सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब १ः१० बजे चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । मृतक शाह सोही वडाका स्थायी बासिन्दा हुन् ।
आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्रले उनीमाथि गोली प्रहार गरेको बताइएको छ । गोली प्रहार गर्नुअघि मालसामान ओसारपसारको विषयलाई लिएर केही समय दुई पक्षबीच विवाद भएको बताइएको छ ।
सशस्त्र प्रहरीका कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरेका छन् । उनले चोरीको सामान रहेको सवारी रोक्न खोज्दा गोली प्रहार भएको र एपीएफले जवाफी फायरिङ गरेको बताए ।
स्रोतका अनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमान्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालत आउँदै गरेको २ वटा सिटी सफारीलाई चेकजाँच गर्न खोज्दा सिटी सफारीमा सवार व्यक्तिले दुई राउन्ड गोली फायर गरेको थियो । त्यसपछि सशस्त्र प्रहरी हबलदारले बोकेको एसएलआरबाट ५ राउन्ड गोली फायर गर्दा विजय शाहको मृत्यु भएको हो ।

शाहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा स्थानीयले लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।
आज बिहान झन्डै १ सय ६० जनाको संख्यामा रहेको भीड घटनास्थलबाट बीओपीको मेनगेटमा आई ढुंगामुडा गरेको थियो । त्यसपछि बीओपीमा रहेको सशस्त्र प्रहरी निरीक्षकको कमान्डको रिजर्भ टोलीले २ सेल ग्याँस फायर गरी तितरबितर पारेको थियो ।