सप्तरी । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीमा खटिएका एक प्रहरी जवान एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दी रहेका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयको ‘ए’ ब्लकअन्तर्गत पोस्ट नं ३ मा प्रहरी जवान बिसोजित ड्युटीमा रहेका थिए ।
बिसोजित शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका अर्का प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो ।
गोली चल्दा बिसोजितको कम्मरमाथिको ढाडमा लागेको थियो । त्यसपछि घाइते बिसोजितलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको थियो।
हाल घाइते प्रहरी जवान बिसोजितको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
यद्यपी थप उपचारका लागि उनलाई सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको छ ।
घटनालगत्तै प्रहरी जवान महतोलाई पनि नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बतायो ।