काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरको भन्दै एक रेष्टुरेन्टलाई जरिवाना गरेको छ ।
विभागले गुणस्तर कायम नगरेको भन्दै काठमाडौं महानगरपालिका-२२, न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
खाद्य विभागले अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाइको अवस्था सामान्य पाइए पनि म्याद नाघेको फ्रुट सिरपको प्रयोग भइरहेको भेटिएको थियो।
त्यस्तै, पिज्जा बनाउन प्रयोग गरिने तेलमा साङ्ला भेटिनु र फ्रिजमा राखिएका खाद्य सामग्रीको भण्डारण व्यवस्थापन अत्यन्त अव्यवस्थित र तेलको टीपीएम २२.० पाइएको थियो, जुन गुणस्तरहीन मानिन्छ।
सोही क्रममा अनुगमन टोलीले रेस्टुरेन्टमा फेला परेका म्याद नाघेका तथा लेबल नभएका दुई बोतल स्क्वास तत्काल नष्ट गरेको छ।
विभागले कारबाहीस्वरूप उक्त रेस्टुरेन्टका सञ्चालकलाई कमजोरी सुधार गर्न र तीन दिनभित्र सुधारका प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।