'सिमाबारे दिएको अभिव्यक्तिमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने '
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' लाई संसद्मा डाँक्नका लागि ‘रुलिङ’ गर्न विपक्षी दलका सांसदले माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्नका लागि सभामुख डोलप्रसाद अर्याल आग्रह गरेका हुन्।
यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिका विषयमा स्पष्टिकरण दिनुपर्ने उनको माग छ।
नेपालले अहिलेसम्म कतै पनि सीमा नमिचेकोले प्रधानमन्त्री शाहले आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ थियो।
उनले भने- 'रास्वपाले हस्तक्षेप गर्नुपर्ने दिन आएको छ । त्यस्तै, यो संसदको गरिमा, इज्जत र सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामखुज्यूकै हो। त्यसैले रुलिङ गर्नुपर्छ।'
प्रधानमन्त्री शाहलाई संसद्प्रति उत्तरदायी बनाउने बनाउने सन्दर्भमा उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को भूमिका खोजेका छन् ।
यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्री शाहको भनाइ सच्याउनुपर्ने बताए।
साम्पाङले भने- 'हाम्रो आन्दोलन जारी छ। प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्छ । यसका लागि सभामुखज्यूले रुलिङ गर्नुस्।'
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले पनि प्रधानमन्त्री शाहले आफ्नो भनाइ सच्याउनुपर्ने बताए।
सांसद भाटले भने- 'प्रधानमन्त्री आउन, आफ्नो कुरा सच्याउन । उहाँलाई सार्वभौम संसदमा ल्याउनुपर्यो।'
प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् ।
यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।