विराटनगर । सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरणको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
विद्युत प्रसारण लाइनमा आएको समस्या समाधान गर्न ड्युटीमा खटिएको मर्मत टोली दुर्घटनामा परेको हो ।
सोमबार राति करिब ११ बजे कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिक बा१ञ १६५१ नम्बरको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा धरान–१३ निवासी ३३ वर्षीय चालक बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय प्राविधिक कर्मचारी सुमन आचार्यको मृत्यु भएको छ।
गम्भीर घाइते अवस्थामा दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका धरान–२० निवासी ३२ वर्षीय पदम राईको अवस्था भने सामान्य रहेको जनाइएको छ।
नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार सोमबार राति ९:५४ बजे दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको थियो। सोही क्रममा मर्मत टोली सवार स्कोरपिओ सेउती पुल नजिक दुर्घटनामा परेको हो।