काठमाडौं । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीले तीव्रता पाएको छ।
सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित पहिलो चरणमा आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने योजना अघि बढाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा परीक्षण उत्पादनदेखि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक रणनीति र आगामी कार्ययोजना समेटिएको छ।
मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेटका आधारमा नेपाली सेनाले उद्योगका मेसिन मर्मत, कच्चा पदार्थ व्यवस्थापन तथा उत्पादन तयारीको काम अघि बढाइरहेको छ।
उद्योग सञ्चालनका लागि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएको छ। टोलीले सरसफाइ, मेसिन मर्मत तथा अन्य प्राविधिक तयारीलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ।
उद्योगको भवन तथा अन्य भौतिक संरचनाको मर्मतका लागि छुट्टै लागत अनुमान तयार गरिएको छ भने पूर्वाधार सुधारको जिम्मेवारी सम्बन्धित निकायले लिएको छ। उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् प्रणाली मर्मतको काम पनि पूरा भइसकेको बताइएको छ।
सरकारले प्रारम्भिक चरणमा उद्योगमा रहेका पुराना मेसिनकै प्रयोगबाट परीक्षण उत्पादन गर्ने योजना बनाएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन 'डीपीआर' तयार गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइनेछ।
यसैगरी प्रतिवेदन बुझ्दै उद्योगमन्त्री यादवले हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताइन् ।
उद्योगमन्त्री यादवका अनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय र सहजीकरण गरिने छ ।