काठमाडौं । सरकारले बजारमा चिनी अभाव नहुने स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा सञ्चिति नगर्न आग्रह गरेको छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा सम्भावित असरबारे चासो बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आपूर्ति अवस्था नियन्त्रणमै रहेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम राख्न सरकार सक्रिय रहेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार हाल सञ्चालनमा रहेका स्वदेशी चिनी उद्योगहरूको उत्पादन, मौज्दात तथा यसअघि आयात गरिएको परिमाणलाई आधार मान्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायत सरकारी निकायसँग करिब आठ महिनाको माग धान्ने चिनी मौज्दात उपलब्ध छ ।
सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अनुचित मौज्दात राख्ने तथा अस्वाभाविक मूल्यवृद्धि गराउने गतिविधि नियन्त्रण गर्न नियमित बजार अनुगमनलाई थप कडाइ गरिने जनाएको छ । मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा विभिन्न निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाइने पनि स्पष्ट पारेको छ ।
यस्तै, चिनीमा दीर्घकालीन आत्मनिर्भरताका लागि सरकारले स्वदेशी उत्पादन वृद्धि गर्ने योजना अघि बढाएको जनाएको छ । उन्नत जातका उखु खेती, आधुनिक प्रविधिको प्रयोग, उत्पादन दक्षता वृद्धि तथा किसानलाई सहजीकरण गर्ने कार्यक्रम कृषि, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा अघि बढाइने बताइएको छ ।
मन्त्रालयले उपभोक्तालाई बजार हल्लाको पछि नलाग्न र सहज तथा सुलभ आपूर्ति कायम राख्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएको छ ।