Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

बिहिवार , आषाढ ३२, २०८३

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित कुख्यात जंगली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको उक्त हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिएर रेडियो कलर लगाइएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राविधिक टोलीले हात्तीलाई बेहोस बनाएपछि घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरेको थियो। आवश्यक व्यवस्थापनपछि हात्तीको दाह्रा काटेर पुनः जंगलमा छाडिएको उनले जानकारी दिए।

रेडियो कलर जडानसँगै अब ‘ध्रुवे’को गतिविधि जीपीएस प्रविधिमार्फत निरन्तर निगरानी गर्न सकिनेछ। यसबाट हात्तीको वास्तविक अवस्थिति छोटो समयमै थाहा पाई बस्तीमा प्रवेश गर्नुअघि स्थानीयलाई सचेत गराउन तथा सम्भावित मानव–हात्ती द्वन्द्व रोक्न सहज हुने निकुञ्जको विश्वास छ।

रेडियो कलर जडान अभियानमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञहरूको संयुक्त टोली सहभागी भएको थियो।

गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा ‘ध्रुवे’को आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले उक्त हात्तीको खोजी र निगरानीलाई तीव्र बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077