Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

भारी वर्षाको जोखिमपछि धादिङमा राति १० बजेदेखि सवारी सञ्चालन बन्द

भारी वर्षाको जोखिमपछि धादिङमा राति १० बजेदेखि सवारी सञ्चालन बन्द

आइतवार , श्रावण ३, २०८३

धादिङ । लगातारको वर्षासँगै बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेपछि धादिङ जिल्लाभर आज रातिदेखि सोमबार बिहानसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सर्वसाधारणको सुरक्षा तथा सम्भावित मानवीय क्षति न्यूनीकरणलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले साउन ३ गते बेलुका जारी गरेको जरुरी सूचनाअनुसार आइतबार राति १० बजेदेखि साउन ४ गते सोमबार बिहान ५ बजेसम्म जिल्लाभित्र चल्ने तथा धादिङ भएर आवतजावत गर्ने अत्यावश्यकबाहेकका सबै सार्वजनिक र निजी सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा अन्य सुरक्षा निकायका सवारी साधन भने पूर्ववत् सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ। उद्धार, राहत तथा आपत्कालीन सेवामा प्रयोग हुने सवारी साधनमा भने यो निर्णय लागू नहुने प्रशासनले स्पष्ट पारेको छ।

जल तथा मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेको थियो। विभागका अनुसार निरन्तर वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र मुख्य राजमार्गहरू अवरुद्ध हुने जोखिम उच्च रहेको छ।

यसै पूर्वानुमानलाई आधार मान्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंलाई चितवन, गोरखा, धादिङ, नुवाकोट तथा अन्य जिल्लासँग जोड्ने सडकखण्डमा रातिको समयमा यात्रा नगर्न विशेष आग्रह गरेको थियो। प्राधिकरणले विशेषगरी पृथ्वी राजमार्गका विभिन्न स्थान, पहाडी सडक तथा नदी किनार आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सोही जोखिम मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र चल्ने तथा धादिङ भएर गुड्ने सम्पूर्ण सार्वजनिक र निजी सवारी साधनको आवतजावत अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ। प्रशासनका अनुसार प्रतिकूल मौसमका कारण सडक दुर्घटना, पहिरो तथा बाढीबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्नु नै निर्णयको मुख्य उद्देश्य हो।

प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न तथा सुरक्षा निकायबाट जारी निर्देशनको पूर्ण रूपमा अनुपालन गर्न सबै नागरिकसँग आग्रह गरेको छ। मौसममा सुधार आएपछि तथा जोखिमको अवस्था मूल्याङ्कन गरी सवारी सञ्चालनबारे थप निर्णय सार्वजनिक गरिने प्रशासनले जनाएको छ।

हाल देशका अधिकांश पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा राजमार्ग प्रयोग गर्दा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूले पुनः आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077