काठमाडौं । जल तथा मौसम विज्ञान विभागले उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ। विभागका अनुसार सोमबार बिहानसम्म नदीको जलसतह सतर्कता तह पार गर्ने सम्भावना रहेको छ।
विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ। रातिभर पनि वर्षा हुने सम्भावना रहेकाले जलसतह थप बढेर सोमबार बिहानसम्म ६ मिटरको सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ।
उनका अनुसार नदीको जलसतह ६ मिटर पुगेमा सतर्कता तह र ७ मिटर पुगेमा खतरा तह मानिन्छ। त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।
विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।