धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडकखण्डमा ब्रेक फेल भएर ट्रक दुर्घटना हुँदा लागेको आगलागीमा चालकको जलेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
आगोले ट्रकको अगाडिको भागलाई पूर्ण रूपमा घेरेपछि चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किन सफल भए पनि गम्भीर रूपमा जलेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्ग्रौला भने सकुशल रहेका छन्।