काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका सात जना इन्जिनियरविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित इन्जिनियरहरूसँग १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) उपदफा (१) बमोजिम कारबाही गर्न नपर्ने कुनै मनासिब कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सफाइ पेस गर्न भनिएको छ।
निर्धारित अवधिमा चित्तबुझ्दो स्पष्टीकरण नआए वा कुनै जवाफ नदिए निजामती सेवा ऐन, २०४९ बमोजिम आवश्यक विभागीय कारबाही गरिने मन्त्रालयले स्पष्ट गरेको छ।
स्पष्टीकरण माग गरिएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुसाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्।
मन्त्रालयले बिदा समाप्त भएपछि पनि कार्यस्थलमा अनुपस्थित रहने कर्मचारीप्रति सरकारी सेवा अनुशासन कायम गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
