Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनताको आँखामा छारो हाल्दै सरकार, बजेट भाषणको भोलिपल्टै दोस्रो डोज खोप उपलब्ध गराउन नसकिने जानकारी

    जनताको आँखामा छारो हाल्दै सरकार, बजेट भाषणको भोलिपल्टै दोस्रो डोज खोप उपलब्ध गराउन नसकिने जानकारी

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । हिजो अर्थात जेठ १५ गतेको वजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्नका लागि भन्दै खोप खरिद गर्न २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी गराएर आम सर्वसाधरणको मन जीते ।

    तर, त्यसको भोलिपल्टै आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने जानकारी गराएपछि सरकारको नियतमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।



    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा बोल्दै मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको जानकारी गराएका हुन् ।



    डा. पोखरेलले यो बताइरहँदा फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने सम्भावना कम भएको छ ।

    विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । तर, नेपाल सरकारले भने पहिलो डोज लगाएकाहरुका लागि अझैसम्म दोस्रो डोज खोप ल्याउन सकेको छैन । पहिलो डोज लगाएको करिब ११ हप्ता बितिसक्दा समेत कानमा तेल हालेर बसेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अन्तिममा आएर खोप नै उपलब्ध गराउन नसक्ने भन्दै पन्छिन खोजेको छ ।

    बजेट भाषणमा खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी गराएपनि आजको स्वास्थ्य मन्त्रालयको भनाइले ओली नेतृत्वको सरकारले किन र कसरी बजेट विनियोजन गरेको रहेछ ? भन्ने आँकलन गर्न सहज बनाएको छ ।

    यद्यपी स्वास्थ्य मन्त्रालयले खोपका लागि कूटनीतिक पहल गरेको र खरिदका लागि कम्पनीहरुसँग सम्पर्क गरिरहेको जानकारी भने गराएको छ ।

    गत माघ १४ गते कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका थिए भने हिजोको बजेट भाषणमा चुनाव आर्थात मंसिर महिना भित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने जानकारी गराइएको थियो ।

    तर, आज मन्त्रालयको यो भनाईले जनताको आँखामा छारो हाल्नकै लागि अर्थमन्त्रीले यस्तो भाषण गरेका त होइनन् भन्ने पनि प्रश्न उब्जिएको छ । एकातिर प्रधानमन्त्रीले नै घोषणा गरेको प्रतिबद्धता पूरा नभएको बेला फेरि बजेट भाषणमा गरिएको प्रतिवद्धता पनि पूरा नहुने देखिदा थप अन्योल उत्पन्न भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार