Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दिनदहाडै अदालतको गेटमै व्यापारीमाथि खुकुरी प्रहार

    दिनदहाडै अदालतको गेटमै व्यापारीमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.6K
    SHARES

    विराटनगर । उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक व्यापारीमाथि खुकुरी प्रहार भएको छ । आइतबार बिहान मात्रै विराटनगर आइपुगेका काभ्रेका युवा व्यापारी ३२ वर्षीय कलामसिंह लामामाथि अपरान्ह  खुकुरी प्रहार भएको हो ।

    आइतबर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल-फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    मोरङ प्रहरीका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था खतरामुक्त रहेका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।



    लामाको मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लगानी छ। उनको काठमाडौंमा सहकारी पनि रहेको बताइएको छ ।

    लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका-११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा प्रयोग भएको खुकुरीसहित भाग्दै गर्दा कार्कीलाई विराटनगरको कोसी अस्पतालनजिकबाट पक्राउ गरिएको हो।  घटनामा संलग्न अर्का एक युवा फरार छन् । पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले  उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । लामाका व्यावसायिक साझेदार साजिदलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

    साजिदले लगानी नगरेपनि लाइसेन्स प्रयोग गर्न दिएर लामासँग पाँच वर्ष वार्षिक ५० हजार इँटा दिने सहमति गरेका थिए । उद्योगमा साजिद र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो। साजिदले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    तर, पछिल्लो समय साजिदले हिसाबकिताब नदेखाएको भन्दै  जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । त्यसपछि दुबै जनाबीच बिबाद उत्पन्न भएको थियो। कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर निस्कँदा लामामाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार