Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी हुन् दसैंका बेला सर्वाधिक बज्ने गीतहरू

    यी हुन् दसैंका बेला सर्वाधिक बज्ने गीतहरू

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडाैं । नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर धेरै गीत तयार भएका छन् । हरेक वर्ष दसैं अगाडि लक्षित गीतहरू सार्वजनिक हुने गरेका छन् ।

    दसैंका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन् । यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन् । बर्सेनि दसैंलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन् । दसैंका अधिकांश गीतमा जन्म गाउँ छाडेर विदेशीएका वा काम विशेषले टाढा रहेकाहरूको कथा समेटिएको पाइन्छ ।



    महान पर्व विजयादशमी अर्थात् बडादसैंमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैंको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन । करिब चार सय वर्ष पुरानो मानिएको मालश्री धुनको पनि बेग्लै महत्व छ । यहाँ दसैं महसुस गराउने केही गीतसंगीतको चर्चा गरिँदैछ ।



    दसैं आयो

    नेपाली फिल्म ‘मुग्लान’मा समावेश ‘दसैं आयो’ गीतले घर आँगनमै दसैं भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको शब्दको यो गीतमा उदितनारायण झा तथा दीपा झाले स्वर दिएका छन् । यसमा संगीत सुरेश अधिकारीकाे छ । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूति एवं घर-परिवारको खुसियाली समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ । यो गीत घन्किन थालेपछि दसैंको अनुभूति हुने गरेको छ । आजभन्दा १८ वर्ष अगाडि तयार भएको गीतले डिजिटल पुस्तामाझ पनि यस गीतको उत्तिकै वर्चश्व छ ।

    विछोडको पीडा

    स्वरसम्राट नारायणगोपालको स्वर रहेको ‘विछोडको पीडा’ पनि दसैंमा बज्ने गीतमध्येको एक हो । नारायणगोपालसँगै  दिलमाया खातीले स्वर भरेको यस गीतले दसैंमा गाउँ फर्किरहेका युवाहरूको प्रतिनिधित्व गरेको छ । ‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । यो गीत ४० वर्षअघि रत्नशमशेर थापाले लेखेका थिए ।

    वर्षमा दिनमा लै लै

    दसैं-तिहारको उत्साह, उमंग र दु:खलाई प्रतिनिधित्व गर्ने यो गीतमध्येको एक हो सुगम पोखरेलको यो गीत । उनकै संगीत तथा स्वर रहेको गीतलाई रवि श्रेष्ठले लेखेका हुन् । परदेशीले घर-परिवारप्रति पोखेको वेदनासहितको यो गीतमा दसैंमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ ।

    दसैं नै हो कि यो मेरो दशा

    दसैंको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैं नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएकाे याे गीतमा दसैंको उत्साह उमंगसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ । आयस्रोत कमजोर भएका मानिसहरूका लागि दसैं दशा बनेर आउने यथार्थलाई यो गीतमा उतारिएको छ ।

    रातो टीका निधारमा

    दसैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ मा सबैभन्दा अगाडि आउँछ । यसमा दसैंको उत्साहलाई चित्रण गरिएको छ । दुई दशक अगाडि अशोक शर्माले निर्देशन गरेकाे अल्लारे चलचित्रमा समावेश गीतमा राजेश हमाल र करिश्मा मानन्धरको नृत्य देख्न पाइन्छ । गीतलाई सहदेव ढुंगानाले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाको संगीत छ । उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन् ।

    याे गीतलाई अशोकले नै पुनः रि-क्रिएट गरेर आफ्नो फिल्म ‘रातो टीका निधारमा’ मा राखेका छन् । गीतकाे नयाँ भर्सनमा गीतमा प्रमोद खरेल र गायिका मेलिना राईले स्वर दिएका छन् । नयाँ भर्सनको गीतमा अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ ।  -न्युज कारखानाबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार