Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • यी हुन् अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्ने आक्रमणकारी (भिडियोसहित)

    यी हुन् अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्ने आक्रमणकारी (भिडियोसहित)

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    विराटनगर । व्यापार व्यवसायमा फाइदा हुने भन्दै चिनजानकै साथीले इटा भट्टामा लगानी गर्न बाध्य बनाएर पछि उद्योग नै कब्जा गर्नका लागि हत्या गर्नेसम्मको योजना बनाएको विराटनगरमा घटेको एक घटनाबाट खुलासा भएको छ । उच्च अदालत विराटनगरको गेटमा असोज १० गते आइतबार काभ्रेका युवा व्यापारी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको थियो ।

    मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इटा उद्योगमा लगानी गरेका लामामाथि खुकुरी प्रहार गरी हत्या गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले लामाका साझेदार महम्मद साजिद मियाँ र विमल कार्कीलाई तत्काल पक्राउ गर्यो । मियाँ र कार्की पक्राउ परेसँगै घटनाको सत्यतथ्य एकपछि अर्को गर्दै खुल्न थालेका छन् ।



    लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीले प्रहरीसमक्ष आफूले ५० हजार रकम लिएर लामामाथि खुकुरी प्रहार गरेको वयान दिएका छन् । घटनामा जोडिएका मुख्य अर्का अभियुक्त हुन्, भक्तपुर ठिमीका रमेश राजबाहक र मोरङका नेत्र कट्टेल । उनीहरु दुबै जना अहिले फरार छन् ।



    लामालाई इटा उद्योगमा ठूलो फाइदा हुने प्रलोभन देखाएर राजबाहकले नै मोरङसम्म पुर्याई महम्मद साजिद मियाँसँग चिनजान गराएर लगानी गर्न बाध्य बनाएका थिए । दुई वर्ष अघि लामाले जब उक्त उद्योगमा करोडौं रकम लगानी गरे त्यसपछि राजबाहकले लामासामु दैनिक १० हजार इटा निशुल्क दिनुपर्ने जस्ता अस्वभाकि सर्तहरु राख्न थाले । लामाले भने नाफा भएको खण्डमा आफूले सहयोग गर्ने आश्वसन पनि दिए ।

    तर, लगानी गराउनासाथ फाइदा खोजेका राजबाहकले लामाविरुद्ध हुँदै नभएका उजुरी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म हालेर दुःख दिन थाले । लामालाई अनेक तरिकाले दुःख दिएर मोरङबाट भगाई उद्योग नै हत्याउन उनले प्रशासनलाई समेत प्रयोग गरेको देखिन्छ । किनकी कम्पनीमा कुनै लगानी र सरोकार नै नभएका नेत्र कट्टेल नामका व्यक्तिले उजुरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले इटा उद्योगको कारोबार नै रोक्न आदेश दिएको थियो ।

    योजनाबद्ध रुपमा लामाका साझेदार मियाँले पनि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए । उक्त इटा उद्योगमा मियाँ र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । मियाँले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए भने बाँकी ५० प्रतिशत शेयर वार्षिक ५० हजार इटा पाउने शर्तमा ५ वर्षका लागि लिजमा दिएका थिए ।

    यति हुँदाहुँदै पनि इटा उद्योगलाई सञ्चालन नै गर्न नदिई उनीहरु लामालाई भगाएर उद्योग कब्जा गर्न खोजेको प्रहरी अनुसन्धानका क्रमममा खुलेको छ । प्रशासनले विना कारण बाहिरका व्यक्तिका उजुरीकै आधारमा उद्योग नै बन्द गरिदिएपछि प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।

    कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको थियो । प्रहरी अनुसन्धानका क्रममा राजबाहक, मियाँ र कट्टेलकै योजनामा लामामाथि आक्रमण भएको खुलेको छ । राजबाहकले कट्टेललाई लामामाथि आक्रमण गर्न सुपारी दिएका थिए । प्रहरीका अनुसार कट्टेलले फेरि कार्कीलाई खटाएको देखिन्छ ।

    घटनामा संलग्न अर्का अजय नाम गरेका ‘बाइक राइडर’ फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिशीले घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको र फरार व्यक्तिहरुलाई चाँडै नै कानुनी कठघरामा ल्याउने बताए ।

    मोरङ प्रहरीका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते लामाको शुरुमा विराट नर्सिङ होममा उपचार भएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको छ ।

    लामाले आफूले कसैलाई पनि आघात नपारी लगानी गरेर व्यवसाय गर्दा चिनजानकै व्यक्ति र साझेदारबाट धोका तथा षड्यन्त्र पाएको गुनासो गरे । उनले भने–‘मलाई आक्रमण गर्नेेमाथि कानून अनुसार कारवाही हुनुपर्छ । कसैले पनि व्यापार व्यवसाय गरेर जीउन पाउनुपर्छ । हत्यासम्मको योजना बनाउने अपराधीहरुलाई राज्यका कुनै पनि निकायले छुट दिनु हुँदैन । किनकी उनीहरुले अन्य व्यक्तिहरुमाथि आक्रमण गर्न सक्छन् ।’ लामाले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको पनि बताए ।

    भिडियाे

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार