Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी तीव्र, चारवटा हेलिप्याड बनाइँदै

    हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी तीव्र, चारवटा हेलिप्याड बनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणका लागि जेठ २ मा हेलिकोप्टरबाट लुम्बिनी आउने भएका छन् । मोदी दिल्लीबाट लुम्बिनीको पारिपट्टि उत्तर प्रदेशको कुशीनगरसम्म विमानमा आउने र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुग्ने तयारी छ ।

    त्यसैले पनि सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ।



    आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ। बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएपछि स्वागतसँगै सुरक्षा व्यवस्थापनको लागि विभिन्न तयारी थालिएको छ।



    मोदी यसअघि पनि लुम्बिनी आउने कार्यक्रम तय भएर अन्तिममा रोकिए पनि यसपटक भने आउने पक्का भएपछि भारतीय सैनिकको टोली समेत लुम्बिनी आइपुगेको छ।

    बुधबार बिहान सवा १० बजे भारतीय प्रधानमन्त्री मोदी र अतिविशिष्ट पाहुनाहरूको बन्दोबस्तीका सामग्रीसहित ३० जना भारतीय सैनिकको टोली लिएर भारतीय वायुसेनाको इलुसियन विमान आइसी ७६ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।

    भारतीय सैनिक, सवारी साधन र अन्य बन्दोबस्तीका सामग्री लिएर आएको विमान भने बुधबार नै दिल्ली फिर्ता हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। भारतीय सैनिकहरूको टोली भने जेठ ३ गतेसम्म नै लुम्बिनीमै रहने छ।

    प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै सैनिकहरूको टोली आएको हो। उक्त टोलीले कार्यक्रम स्थल, मोदी बस्ने होटल लगायत वरपरको सुरक्षा व्यवस्थापन मिलाउने बताइएको छ।

    हेलिकप्टर अवतरणको लागि लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै चारवटा हेलिप्याड बनाइँदै छ। अन्तर्राष्ट्रिय सभाहल नजिकै इँट्टा बिच्छाएर माथि ढलान गरी हेलिप्याड बनाइँदै छ।

    हेलिप्याडबाट अन्तर्राष्ट्रिय सभाहलसम्म आउनको लागि ढुंगा बिच्छाएर बाटो निर्माण भइरहेको छ।

    मोदी लुम्बिनी आएपछि भारत सरकारले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ। उक्त बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार