Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिआईबीद्वारा अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्न लगाउने योजनाकार पक्राउ

    सिआईबीद्वारा अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्न लगाउने योजनाकार पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्न लगाउने मुख्य योजनाकारलाई पक्राउ गरेको छ । २०७८ साल असोज १० गते दिउसो उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रेका युवा व्यवसायी कमल सिंह लामालाई खुकुरी प्रहार गर्न लगाउने मुख्य योजनाकार रमेश राजवाहकलाई सिआईबीले आज भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।

    सविक मध्यपुर ठिमी नगरपालिका–३ हाल वडा नं. ९ सानोटारबाट बस्ने राजवाहकलाई सिआईबीको टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका राजवाहकलाई आजै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको सिआईबीले जनाएको छ ।



    इटा भट्टा व्यबसायी लामाका व्याबसायिक साझेदार समेत रहेका राजवाहकले मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इटा उद्योगमा लगानी गरेका लामामाथि खुकुरी प्रहार गरी हत्या गर्न खोजेको अनुसन्धानका क्रममा खुलिसकेको छ ।



    हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले लामाका साझेदार महम्मद साजिद मियाँ र खुकुरी प्रहार गर्ने विमल कार्कीलाई तत्काल पक्राउ गरेको थियो । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीले प्रहरीसमक्ष आफूले ५० हजार रकम लिएर लामामाथि खुकुरी प्रहार गरेको वयान दिएका थिए । उनले नेत्र कट्टेलमार्फत राजबाहकले नै खुकुरी हान्न लगाएको पनि बताएका थिए ।

    प्रहरी अनुसन्धानमा राजबाहकले कट्टेललाई लामामाथि आक्रमण गर्न सुपारी दिएका थिए । तर, कट्टेलले फेरि कार्कीलाई खटाएको खुलिसकेको छ । मियाँ र कार्की पक्राउ परेलगत्तै फरार भएका राजवाहक अन्ततः सिआईबीको फन्दामा परेका हुन् । कार्कीको बयान फेर्न लगाएर जोगिनका लागि राजबाहकले सरकारी वकिलको कार्यालय र अदालतमा समेत आर्थिक चलखेल गर्न खोजेका थिए । तर, त्यसम उनी सफल नभएको देखिन्छ ।

    लामालाई इटा उद्योगमा ठूलो फाइदा हुने प्रलोभन देखाएर उनै राजबाहकले नै मोरङसम्म पुर्याई महम्मद साजिद मियाँसँग चिनजान गराएर लगानी गर्न बाध्य बनाएका थिए । तीन वर्ष अघि लामाले जब उक्त उद्योगमा करोडौं रकम लगानी गरे त्यसपछि राजबाहकले लामासामु दैनिक १० हजार इटा निशुल्क दिनुपर्ने जस्ता अस्वभाबिक सर्तहरु राखेर दुःख दिएका थिए ।

    तर, लगानी गराउनासाथ फाइदा खोजेका राजबाहकले लामाविरुद्ध हुँदै नभएका उजुरी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म हालेर दुःख दिन थाले । लामालाई अनेक तरिकाले दुःख दिएर मोरङबाट भगाई उद्योग नै हत्याउन उनले प्रशासनलाई समेत प्रयोग गरेको खुलिसकेको छ । किनकी कम्पनीमा कुनै लगानी र सरोकार नै नभएका नेत्र कट्टेल नामका व्यक्तिले उजुरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले इटा उद्योगको कारोबार नै रोक्न आदेश दिएको थियो ।

    योजनाबद्ध रुपमा लामाका साझेदार मियाँले पनि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । उक्त इटा उद्योगमा मियाँ र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । मियाँले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए भने बाँकी ५० प्रतिशत शेयर वार्षिक ५० हजार इटा पाउने शर्तमा ५ वर्षका लागि लिजमा दिएका थिए ।

    यति हुँदाहुँदै पनि इटा उद्योगलाई सञ्चालन नै गर्न नदिई उनीहरु लामालाई भगाएर उद्योग कब्जा गर्न खोजेको प्रहरी अनुसन्धानका क्रमममा खुलेको छ । प्रशासनले विना कारण बाहिरका व्यक्तिका उजुरीकै आधारमा उद्योग नै बन्द गरिदिएपछि प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार