Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गम्भीर षड्यन्त्रको सिकार भएँ

    सन्दीप लामिछानेले भने – अहिले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

    सन्दीप लामिछानेले भने – अहिले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू विरुद्ध परेको बलात्कारसम्बन्धी उजुरीको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका छन्।

    आइतबार राति सामाजिक सञ्जालमा एक लामो सन्देश लेख्दै सन्दीपले यसबीचमा आफू मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेका कारण नेपाल आउन नसकेको बताएका छन्।



    भदौ २१ गते प्रहरीमा दर्ता भएको उजुरीबारे आफूले भदौ २२ गते थाहा पाएको सन्दीपले उल्लेख गरेका छन्। उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आएको पनि सन्दीपले उल्लेख गरेका छन् ।



    ‘क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रका लागि दिलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ,’ उनले भनेका छन् ।

    उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,’ उनले भनेका छन् ।

    साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ उनले लेखेका छन् ।

    सन्दीप विरुद्ध आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप लगाउँदै एक किशोरीले गत भदौ २१ गते (मंगलबार) प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

    उजुरीमाथि प्रारम्भिक अनुसन्धानका क्रममा सन्दीप र उजुरीकर्ता किशोरी एउटा होटलमा गएको र दोस्रो दिन मात्रै बाहिरिएको सीसीटीभी फुटेज भेटिएको प्रहरीले जनाएको छ।

    पीडित युवतीको उजुरी र प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति लिएको थियो। काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार