Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सर्वसाधरणको अर्बौं हिनामिना गर्ने चौलागाईंलाई किन पक्राउ गर्दैन प्रहरी ?

    सर्वसाधरणको अर्बौं हिनामिना गर्ने चौलागाईंलाई किन पक्राउ गर्दैन प्रहरी ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । सयौं पीडितहरुले ठगिएको भन्दै प्रहरीका विभिन्न निकायमा उजुरी गर्दा समेत देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं सञ्चालक रविन्द्र चौलागाईं अझै पक्राउ परेका छैनन् । देउराली सहकारीका पीडितहरूमध्ये १९६ जना बचतकर्ताले उजुरी दिएपछि सहकारी विभागले २०८० असार १२ गते नै चौलागाईंलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्र पठाएको थियो ।

    संस्थाको कारोबार बन्द भएपछि जिल्ला प्रहरी परिसर ललितपुरमा पनि चौलागाईंविरुद्ध असार २ गते जाहेरी परेको थियो । जवकी सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले अब आवश्यक अनुसन्धान गरी प्रहरीले सञ्चालकलाई पक्राउ गर्न सक्ने बताएका थिए । तर, चौलागाईंलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।



    प्रहरीकै आडमा चौलागाईं खुलमखुल्ला हिडिरहेको बचतकर्ताको आरोप छ । स्रोतका अनुसार सिआईबी प्रमुख किरण बज्राचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह नै चौलागाईंलाई पक्राउ गर्न अनकनाइ रहेका छन् । सो सहकारीले २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाएका बचत संकलन गरेको थियो ।



    चौलागाईंले बचतकर्ताको ३ अर्ब र बैंकको ४ अर्ब गरी ७ अर्ब रकम हिनामिना गरेर फरार भएको भन्दै सहकारी विभागमा उजुरी परेको थियो । सहकारी विभागले छानविनका लागि सिआईबीलाई पत्र पठाएपछि चौलागाईं भने बचतकर्ताको रकम फिर्ता गर्छु भन्दै विज्ञप्ति जारी गरेर पन्छिन खोजिरहेका छन् । प्रहरीकै उच्च अधिकारीहरुसँग चौलागाईंको साँठगाँठ रहेको हुँदा उनी विज्ञप्ति जारी गरेर पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् ।

    बचतकर्ताको अरबौं रकम दुरुपयोग गरेका चौलागाईंले कमजोर धितो राखेर विभिन्न १० वटा कम्पनीको नाममा करिब चार अर्ब ऋण समेत लिएका थिए । उनले हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट मात्रै २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएका छन् । जवकी उक्त ऋणमा आधा मूल्यको सम्पत्ति पनि धितो छैन ।

    त्यस्तै चौलागाईंले सिटिजन्स बैंकको २५ करोड, मेगा बैंक (हाल इन्भेष्टमेन्ट मेगा) को १८ करोड ५० लाख रुपैयाँ ऋण सातदोबाटोको जग्गा धितोमा मात्रै छ । उनको पूजा मार्केटिङमा एनआईसी एसिया बैंकको ७ करोड रुयैयाँ ऋण रहेको पनि खुलिसकेको छ । साविकको मेगा बैंक र माछापुच्छ«े बैंकबाट पनि चौलागाईंले ठूलै मात्रामा ऋण लिएका छन् ।

    सातदोबाटो एन्फा कम्प्लेक्स नजिकै २१ आना जग्गा राखेर चौलागाईंले साविकको मेगा (हाल नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकबाट १८ करोड ५० लाख ऋण लिएको पाइएको छ । जबकी उक्त जग्गाको अहिलेके चलनचल्ती मूल्य १७ करोड ८५ लाख मात्रै पर्छ । तत्कालिन इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योती पाण्डेलाई कमिसन बुझाएर चौलागाईंले धितो भन्दा बढी ऋण लिन सफल भएका थिए । उक्त जग्गा भएको स्थानमा अहिले प्रतिआना ८५ लाखका दरले मूल्य चलेको स्थानीयहरु नै बताउँछन् ।

    सर्वसाधरण ऋण माग्न जाँदा जग्गाको कुल धितो मूल्यांकनको ४० प्रतिशतमात्रै ऋण दिने बैंकहरुले सेटिङमा भने जति पनि ऋण लगानी गर्दै आएको चौलागाईंलाई ऋण दिएको घटनाबाट पनि पुष्टी हुन्छ । सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब, बैंकबाट ऋण दिएको ४ अर्ब तिर्न नसक्ने भएपछि चौलागाईं कार्यालय बन्द गरी सम्पर्कविहिन भएको स्रोत बताउँछ ।

    साविकको सेञ्चुरी कमर्सियल बैंकले रविन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको थियो । त्यो ऋण पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र उनी स्वयंका नाममा लिएका छन् ।

    ऋण चुक्ता नभएपछि धितो लिलामीका लागि बैंकले तीनपटक सूचना जारी गरेपनि सम्पत्ति लिलाम बिक्री भने हुने देखिदैन । किनकी ऋण २ अर्ब २५ करोड छ, धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य आधा पनि छैन ।

    त्यसो त, सहकारीले आर्थिक वर्ष २०७४÷७५ देखि वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरेको छैन । तर, सहकारी विभागले उसलाई जनतासँग रकम उठाउन भने छुट दिएकै थियो । चौलागईंले साधारणसभा र लेखापरीक्षण प्रतिवेदन नै नबुझाई अवैधानिक रूपमा सहकारीका नाममा २ अर्ब ७५ करोड रुपैयाँ उठाएको खुलेको छ । ०७४÷७५ सम्म सो सहकारीले जम्मा २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको प्रदेशको सहकारी महाशाखामा रेकर्ड भेटिन्छ । तर, अहिले त्यसको निक्षेप बढेर ३ अर्ब पुगिसकेको छ ।

    चौलागाईंले आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेष्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्रीश्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टीलरी प्रालि नामका कम्पनी खोलेका थिए । यसमध्ये कतिपय सञ्चालनमा थिए भने कतिपय चाहिँ ऋण लिने प्रयोजनका लागि कागजमा मात्रै सिमित रहेको पनि खुलिसकेको छ ।

    सहकारीबाट बचतकर्ताको रकम निकालेर जग्गा किनी त्यहि जग्गा धितो राखेर बैंकबाट मूल्यभन्दा दोब्बर तेब्बरसम्म ऋण लिएको खुलेको छ । चौलागाईं, उनकी श्रीमती पूजा खत्री र परिवारका अन्य सदस्यका नाममा ललितपुरको लामाटारमा ८४ रोपनी जग्गा रहेको छ ।

    पूजा खत्रीका नाममा धापाखेलमा एक रोपनी चार आना, सुनाकोठी र हरिसिद्धिमा एक रोपनी जग्गा छ । चौलागाईंको नाममा सातदोबाटोमा १ रोपनी ३ आना, मध्यपुर ठिमीमा ८ आना, सुनाकोठी २० आना र कीर्तिपुरमा ४ आना, ग्वार्कोमा १० आना, धोबीघाटमा १२ आना, बनेपामा ६ रोपनी जग्गा भएको विवरण भेटिएको छ ।

    त्यस्तै उनका जेठान राजेन्द्र खत्रीको नाममा पाँचखालमा ७ रोपनी जग्ग्गा रहेको पनि खुलेको छ । चितवनको मेघौलीमा ६० विगाहा जग्गा आफ्नै भएको दाबी चौलागाईंले गर्ने गरेका छन् । सहकारीको संकट गहिरिएपछि सञ्चालक चौलागाईंले एक वर्ष अघि नै पत्रकार सम्मेलन गरेर ५ लाख सम्मका बचत काउन्टरमार्फत फिर्ता गर्ने र त्यसमाथिका निक्षेपकर्तालाई जग्गा दिने घोषणा गरेका थिए ।

    चितवनको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ बिगाहा जग्गालाई १ हजार २६७ प्लटमा प्लटिङ गरेको र त्यो जग्गामा निक्षेप मिलान गरी फिर्ता गर्ने चौलागाईंको दाबी थियो । तर, उनले न बचतकर्ताको पैसा फिर्ता गरे न त जग्गा नै दिए ।

    सयौं बचतकर्ताहरुले ठगीएको भन्दै प्रहरीका विभिन्न निकायदेखि सहकारी विभागमा उजुरी गर्दा समेत चौलागाईं अहिलेसम्म किन पक्राउ परेका छैनन् त ? भन्ने अनलाइन नेपालको प्रश्नमा सिआईबीका प्रवक्ता एसपी संजय सिंह थापा सहकारी विभागबाट पत्र आएको बताउँदै यस विषयमा छानविन भइरहेको बताउँछन् ।

    उनले अनलाईन नेपालसँग भने–‘सहकारीको वार्षिक विवरणदेखि सम्बन्धित निकायहरुलाई बुझाएको प्रतिवेदनमाथि सिआईबीले अध्ययन गरिरहेको छ । आवश्यक परेको खण्डमा पीडितहरुलाई पनि बोलाएर सोधपुछ गर्छौं । रकम अपचलन गरेको विषयमा छानविन भइरहेको छ । त्यसपछि पक्राउको प्रकृया अगाडि बढ्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार