Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एयरपोर्टमै क्यानको संरक्षणमा श्रेष्ठको अवैध कफीसप, सतर्कता केन्द्रले थाल्यो छानविन

    एयरपोर्टमै क्यानको संरक्षणमा श्रेष्ठको अवैध कफीसप, सतर्कता केन्द्रले थाल्यो छानविन

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरित नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विवादास्पद व्यापारीले अवैध रुपमा कफीसप सञ्चालन गरेको खुलेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानविन थालेको छ ।

    केन्द्रले साउन १२ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखी सात दिन भित्र उक्त पसलका सम्पूर्ण कागजात पठाउन निर्देशन दिएको छ । विमानस्थलको अतिसंवेदनशिल स्टेराइल क्षेत्रभित्रको आफ्नै पसलबाट डलरसहित रंगेहात पक्राउ परेका ब्यापारी सुवास श्रेष्ठले कानून विपरित कफीसप सञ्चालन गर्दै आइरहेका छन् ।



    श्रेष्ठले उक्त कफीसप नाताले सहोदर जेठान पर्ने गोपालबाबु श्रेष्ठको नामबाट सञ्चालन गरिरहेको खुलेको छ । स्टे अर्डरका भरमा विमानस्थलभित्र कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठले मुद्दा फिर्ता लिएको वर्ष वितिसक्दा पनि कफीसप भने अझै सञ्चालन गरिरहेका छन्। सोही विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानविन थालेको हो ।



    तत्कालिन संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग सेटिङ मिलाएर विमानस्थलका निर्बतमान महाप्रबन्धक भोला गुरागाई प्राधिकरणका तत्कालिन महानिर्देशक राजकुमार क्षेत्री, हालका महानिर्देशक प्रदिप अधिकारी र निलम्बीत महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्रभावमा पारेर उनले स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएका छन् ।

    २०६९ चैत २६ गते श्रेष्ठले पुरानो स्टेराइल कक्षको लवीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गरेका थिए । तर, विमानस्थलले उक्त ठाउँ भत्काई नयाँ संरचना निर्माण गर्ने भन्दै २०७६ असार १९ गते ३५ दिनभित्र सो पसल रहेको स्थान खाली गर्न कफीसप सञ्चालक श्रेष्ठलाई पत्र काटेको थियो । तत्कालिन महाप्रवन्धक राजकुमार क्षेत्रीले पत्र काटेपछि श्रेष्ठ त्यसविरुद्ध सर्बोच्च अदालत गएका थिए ।

    सर्वोच्च अदालतले २०७६ साउन २० मा श्रेष्ठले सोही स्थानमा पसल सञ्चालन गर्न पाउने गरी ‘स्टे अर्डर’ जारी गरेको थियो । श्रेष्ठले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु राणासँग सेटिङ गरी स्टे अर्डर जारी गराउन सफल भएका थिए ।

    सर्वोच्च अदालतले जारी गरेको स्टे अर्डर अनुसार श्रेष्ठले पुरानो सम्झौता भएको स्थानमा कफीसप सञ्चालन गर्न पाउनु पर्ने हो । तर, सो कफीसपबाट नै आगलागी भएर बिमानस्थलको पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुगेपछि श्रेष्ठलाई नयाँ बनेको स्टेराइल कक्षभित्र कफीसप सञ्चालन गर्न दिइएको छ ।

    सो पसलबाट सल्कीएको आगोले पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुर्याएको थियो । सर्वोच्चले स्टे अर्डर जारी गरेको स्थान नै आगोलागी भएर नष्ट भएको अवस्थामा श्रेष्ठले तत्कालिन पर्यटनमन्त्री प्रेम आले र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलगायतलाई आर्थिक प्रभावमा पारी गतल तरिकाबाट कमिटी गठन गर्न लगाई सो कमिटीको सिफारीस अनुसार नियम बिपरित कफीसप सञ्चालन गर्दै आएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिरकरणले कफीसप बन्द गराउन गरेको पत्राचारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका श्रेष्ठले उक्त मुद्दा नै फिर्ता लिइसकेका छन् । तर, उनले पसल भने अहिले पनि गैरकानूनी रुपमा सञ्चालन गरिरहेका छन् ।

    आफू अनुकुलका न्यायाधीशमा नपरेपछि पटक–पटक मुद्दाको पेशी सार्दै उनले अन्तिममा मुद्दा नै फिर्ता लिएका थिए । उक्त मुद्दाको अन्तिम पेशी २०७९ बैशाख २५ गतेका तोकिएको थियो । उक्त दिन आफ्नो विपक्षमा सुनुवाइ हुने आशंकामा श्रेष्ठले रहस्यमय तरिकाले आफूले दायर गरेका सबै मुद्दा नै फिर्ता लिएका थिए ।

    श्रेष्ठले सर्बोच्च अदालतबाट प्राप्त आदेशकै भरमा नयाँ स्टराईल हलमा पसल संचालन गर्दे आएका थिए । जुन आदेशको भरमा श्रेष्ठलाई बिमानस्थलले पसल संचालन गर्न दिएको हो, सो आदेश भएको मुद्दा नै मिति २०७९ बैशाख २५ गते फिर्ता भइसकेको छ ।

    दायर भएका सबै मुद्दा फिर्ता लिएको १५ महिना पुग्नै लाग्दा पनि श्रेष्ठले अहिलेसम्म कफीसप भने निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् ।कफीसपका कारण विमानस्थालमा परेको सुरक्षा असरका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको थियो । तर, श्रेष्ठले कफीसप सञ्चालन गर्न पाउनुपर्ने मुद्दा नै फिर्ता लिइसकेको अवस्थामा अख्तियारले पनि कुनै कारबाही प्रकृया अगाडि बढाउन सकेको छैन ।

    नेपाल नागरिक उड्डयन प्राधिरकरणले कुन कानूनलाई टेकेर विना टेण्डर कफीसप अहिलेसम्म सञ्चालन गर्न दिइरहेको छ ? सतर्कता केन्द्रले यसलाई गम्भिर रुपमा प्रश्न उठाउँदै छानविन थालेको हो ।

    यस्तो गम्भिर विषयलाई अख्तियार र प्राधिकरणले छानविन समेत नगर्नु संयोगमात्र मान्न नसकिने विमास्थलकै कर्मचारीहरु बताउँछन् । अहिले राष्ट्रिय सतर्कता केन्द्रले भने पसलको बारेमा जवाफसहित पुष्टि हुने कागजात मागेपछि श्रेष्ठ तिल्मिलाएका छन् । सतर्कता केन्द्रले कुन मितिदेखि कति वर्षको लागि कहिलेसम्म सम्झौता भएको हो ? त्यसको छायाप्रति पठाउन माग गरेको छ ।

    सतर्कता केन्द्रले प्राधिकरणलाई साउन १२ गते लेखेको प.सं.२०८०/०८१ मा भनिएको छ–‘त्रिभुवन विमानस्थलको स्टेराईल हलमा चमेना गृह संचालनमा रहि रहेको अवस्थामा अकस्मात आगलागी भई अतिपूर्ति माग गरेको अवस्था समेत देखिन्छ । सो आगलागी हुनुभन्दा अगाडी उल्लेखित चमेनागृह संचालन गर्ने सम्झौता कुन मितिदेखि कति वर्षको लागि कहिलेसम्म दिएको हो ? मिति समेत खुलाई पठाई दिनु हुन र सम्झौताको छायाँप्रति समेत पठाई दिनु हुन ।’

    सुवास श्रेष्ठ उनै व्यक्ति हुन्, जो डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते विमानस्थबाट पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार