Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मन्त्री किरातीलाई उल्लु बनाउँदै अधिकारी, डलर तस्करीका नाइकेलाई एयरपोर्टमा छुट

    मन्त्री किरातीलाई उल्लु बनाउँदै अधिकारी, डलर तस्करीका नाइकेलाई एयरपोर्टमा छुट

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । दशैअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलभित्र सञ्चालित पसलहरुको अनुगमन गरे । अनुगमनका क्रममा एयरपोर्टभित्र सञ्चालित पसलहरुले यात्रुहरुसँग मनलाग्दी रकम असुलेको पुष्टि भएपछि मन्त्री किरातीले उपभोक्ता संरक्षण ऐन प्रतिकुल हुने गरी कुनै पनि गतिविधि नगर्न पसलहरुलाई सचेत समेत गराएका थिए ।

    लगत्तै कात्तिक १ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध समेत गर्यो ।



    मन्त्री किरातीले गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन प्रतिकुल हुने गरी कुनै पनि गतिविधि नगर्न पसलहरुलाई सचेत गराइएको र वस्तुको बजार मूल्य तथा गुणस्तरको अनुगमन गर्ने निकाय वाणिज्य विभाग भएकाले सो विभागमार्फत अनुगमन बढाउनु पर्ने भन्दै विमानस्थल कार्यालयले विज्ञप्ति नै जारी गरेको थियो ।



    मन्त्री किरातीको निर्देशनपछि एयरपोर्टमा सञ्चालित पसलहरुलाई व्यवस्थित गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले कार्तिक २ गते उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय कमिटि गठन गराए ।

    उक्त कमिटिलाई नेपाल भरका विमानस्थलहरुमा सञ्चालित पसल/कबलहरुबाट बिक्री/वितरण गरिने वस्तु तथा उपलब्ध गराइने सेवालाई व्यवसायिक रुपमा संचालन गरी थप व्यवस्थित गर्न आवश्यक देखिएकोले सोसँग सम्बन्धित कानूनी तथा व्यवसायिक पक्षहरुको अध्ययन गरी विस्तृत प्रतिवेदन १५ दिन भित्र बुझाउन निर्देशन दिइएको थियो ।

    सबैभन्दा रोचक पक्ष त के छ भने महानिर्देशक अधिकारीले पसलहरुको विस्तृत विवरण बनाउन गठन गरेको कमिटिमा नै चलखेल गरे । एयरपोर्टका पसलहरुमा एकलौटी कब्जा गरेर बसेका डलर तस्करीमा मुछिएका सुवास श्रेष्ठलाई सहयोग पुग्ने गरी कमिटि गठन गरी महानिर्देशक अधिकारीले मन्त्रीको आँखामा छारो हाल्ने काम गरेका छन् ।

    सुवास उनै व्यक्ति हुन्, जो आफ्नै पसलमा संकलन भएको डलर विदेश लान लाग्दा विमानभित्रबाट पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतमा अहिले पनि श्रेष्ठविरुद्धको मुद्दा विचाराधिन छ । कानून विपरित पसल सञ्चालन गर्दै आएका श्रेष्ठलाई प्रदिप अधिकारीले नै संरक्षण गर्दै आएका छन् ।

    त्रिभुवन विमानस्थलबाट दैनिकजसो सुन तस्करी र अवैध गतिविधि भइरहेको प्रहरीले नै पक्राउ गरेका घटनाहरुबाट खुलिरहेका छन् । यस्तो अवस्थामा पनि अवैध डलर कारोबारीमा मुछिएका श्रेष्ठलाई हित हुनेगरी कमिटि गठन गरेर डिजी अधिकारीले एयरपोर्टमा खुलमखुल्ला तस्करी बढाउन मलजल पुर्याइरहेका छन् । जुन प्रकरणमा मन्त्री किरातीको ध्यान पुगेको छैन । वर्षौंसम्म पनि एउटै व्यक्तिले यसरी अवैध गतिविधि गरेर पसल सञ्चालन गरिरहँदा देशको राजश्वमा प्रतिकुल असर मात्रै परेको छैन कुनै पनि बेला अपराधको डरलाग्दो घटना नघट्ला भन्न सकिन्न ।

    आजका दिनसम्म पनि मनलाग्दी पैसा असुलेर पसलबाट सामानहरु विक्री वितरण भइरहँदा समेत डिजी अधिकारी आँखा चिम्लेर बसेका छन् ।

    मन्त्री किरातीले गरेको अनुगमनका क्रममा विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेका पसलमा एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्री गरेको, एमआरपी वा प्राइसट्याग नटासेको पाइएको थियो । मन्त्री किरातीले एयरपोर्टका महाप्रवन्धक प्रतापबाबु तिवारीलाई बढी मूल्यमा सामान विक्री नगर्न/नगराउन निर्देशन दिएका थिए । तर, महानिर्देशक अधिकारीको अगाडि तिवारी छायाँमा परेका छन् ।

    अधिकारीलाई डिजी बनाउन उनै श्रेष्ठले करोडौं लगानी गरेका कारण एयरपोर्टमा जति अवैध गतिविधि भएपनि डिजी अधिकारी मौन बस्ने गरेका छन् । मन्त्री किरातीलाई डिजी अधिकारीले पीएको हैसियत जति पनि टेर्दैनन् ।

    डिजी अधिकारीमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत १२ अर्बबाट बढाई २४ अर्ब पुर्याएको प्रकरणमा अनुसन्धान गरिरहेको छ । अधिकारी कुनै पनि बेला अख्तियारको फन्दामा पर्ने निश्चित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार