Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • १२ अर्बको ठेक्कालाई २४ अर्ब पुर्याउने प्रदीप अधिकारीमाथि अख्तियारको छानविन, टेण्डर प्रक्रियादेखि नै डरलाग्दो सेटिङ

    १२ अर्बको ठेक्कालाई २४ अर्ब पुर्याउने प्रदीप अधिकारीमाथि अख्तियारको छानविन, टेण्डर प्रक्रियादेखि नै डरलाग्दो सेटिङ

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 19.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको घोटाला प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका  महानिर्देशक प्रदीप अधिकारीमाथि गम्भिर रुपमा छानविन थालेको छ।

    विमानस्थल निर्माणका क्रममा अधिकारीले नै १२ अर्बबाट लागत बढाएर २४ अर्ब पुर्याएका  थिए । अख्तियारले हिजो मात्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको थियो।  विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाइ छ।



    अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंकखाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजना कार्यालयले अख्तियारको टोली पोखरा गएर फाइल हेरेको पुष्टि गरको छ ।



    पोखरा विमानस्थलमा गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरेको त छँदैछ, टेण्डर प्रक्रियादेखि सेटिङ गरी राज्यलाई अरबौं नोक्सान पारेको बिषयमा पनि अख्तियारले अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ ।

    १२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर २४ अर्ब रुपैयाँ पुर्याएको बिषयमा छानबिन नभएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना हुँदैआएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख वर्तमान नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारी नै थिए । अधिकारीले नै १२ अर्बबाट लागत बढाएर २४ अर्ब पुर्याए। जुनसुकै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रभावमा पार्न सफल हुँदैआएका अधिकारीले सबैतिर सेटिङ गरी पोखरा विमानस्थलको लागत १२ अर्ब बढाएको दर्जन उजुरी अख्तियारमा परेका छन् ।

    चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल भएको थियो ।

    आयोजना प्रमुख रहेका अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जीनीयरीङ कम्पनीलाई दिएका थिए । सीएएमसी इन्जीनीयरीङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए ।

    पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले हालसालै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएर ठूलो आर्थिक लाभ लिएको आरोप छ ।

    पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको प्रमुख हुँदा सेटिङमा अरबौंको ठेक्का दिएको र प्रतिस्पर्धालाई नै सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ अर्ब ८० करोड रुपैयाँको ठेक्का  सेटिङमा चाइनीज कम्पनीलाई दिएका थिए ।

    १ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई नदिई सेटिङमा ठेक्का दिइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखराको ठेक्कामा अरबौं अरब रुपैयाँको ठेक्का सेटिङ गरेका अधिकारीले परामर्शदाताको छनोटमा पनि डरलाग्दो अनियमितता गरेका छन् ।

    उनले आफ्नै लगानी भएको कम्पनीलाई परामर्शदाता नियुक्त गरेको आरोप छ । अधिकारीका आफन्तका नाममा २ वटा परामर्शदाता कम्पनी छन् । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध विमानस्थलको परामर्शदाताको छानबिन गर्ने हो भने प्रदीप अधिकारीकै भएको पुष्टि हुने प्राधिकरणका एक अधिकारी दाबी गर्छन्। अख्तियारले परामर्शदाता छनोटका क्रममा भएको सेटिङका बारेमा पनि छानबिन गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका ती अधिकारी बताउँछन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरामा भएको ठेक्कामा होस् कि हालै भएको भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि प्रदीप अधिकारीले  धनबहादुर बुढा र एमाले अध्यक्ष केपी ओली निकट अर्का बिचौलियासँग मिलेर  सेटिङमै दिएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थल निर्माणको ठेक्कामा भएको अरबौंको घोटालाका बारेमा उजुरी परेका छन् । अरबौंको ठेक्का सेटिङको उजुरी मिलाउने भन्दै अख्तियार प्रमुख राईको बदनाम गर्ने काम पनि उनै प्रदीप अधिकारीले नै गरिरहेका छन् ।

    यसअघि नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलले पनि एक विचौलियामार्फत अख्तियार प्रमुख राईलाई सेटिङ मिलाएको हल्ला गर्दै हिंडेका बेला अख्तियारले पौडेलमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारको अनुसन्धानपछि तिल्मिलाएका अधिकारीले पद टिकिरहन एमाले अध्यक्ष केपी शर्मा ओलीदेखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’की छोरी गंगा दाहाललाई समेत मिलाएको भन्दै दाबी गर्दै हिंडेको स्रोत वताउँछ।

    महानिर्देशक अधिकारीले आयोजनाको ठेक्कामार्फत् भ्रष्टाचार गरी आर्जित रकमाथि पनि अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाइ छ।

    स्थानीय तहमा एकाध लाख भ्रष्टाचार गर्नेहरुका बिरुद्ध आक्रामक अख्तियार देशका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरबौं भ्रष्टाचारमा किन छानबिन गर्न सकिरहेको छैन भन्ने प्रश्न उठिरहेको छ ।

    अख्तियारले आइतबार पोखरा विमानस्थलको कागजात नियन्त्रणमा लिएपछि प्रदीप अधिकारी जस्ता शक्तिकेन्द्रलाई प्रभावमा पारी जे पनि गर्नसक्छु भन्नेहरु कानुनी कारबाहीको दायरामा आउँछन् कि भन्ने आशा पलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार