Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बुटिक एयरपोर्टलाई कुरुप बनाउन महानिर्देशकदेखि महाप्रवन्धकसम्म सक्रिय

    बुटिक एयरपोर्टलाई कुरुप बनाउन महानिर्देशकदेखि महाप्रवन्धकसम्म सक्रिय

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा स्तरोन्नती गर्ने कार्य भइरहेका बेला विमानस्थल नै कुरुप बन्ने खतरा बढेको छ । बुटिक एयरपोर्टको रुपमा स्थापित भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र केही ब्यापारीहरुले उच्च पदस्थ कर्मचारीकै मिलेमतोमा होर्डिङ बोर्ड राखेर विमानस्थललाई कुरुप बनाइ रहेका छन् ।

    विमानस्थलको सुरक्षा संवेदनशिलतालाई समेत वेवास्ता गर्दै उनीहरुले सीसीटिभी क्यामेरा समेत छोपीने गरी ठूला–ठूला होर्डिङ बोर्ड राख्न फलामका पोल गाडिरहेका छन् । सर्वोच्च अदालतले सात वर्ष अघि नै सार्वजनिक स्थानमा होर्डिङ बोर्ड राख्न र भित्ते लेखन गर्न नपाउने गरी परमादेश जारी गरेको थियो । तर, सर्वोच्चको आदेशलाई नै अवज्ञा गर्दै विवादास्पद व्यापारी सुवास श्रेष्ठको ग्रिनतारा कम्पनीले होर्डिङ बोर्ड राख्ने तयारी गरेको हो । सर्वोच्चको आदेशपछि पनि विमानस्थलका होर्डिङ बोर्ड हटेका थिएनन् । त्यसमाथि अहिले फेरि श्रेष्ठले अन्य बोर्डहरु थप्न लागिरहेका छन् ।



    कुनै समय विमानस्थलमा डलर तस्करी गर्दा गर्दै पक्राउ परेका श्रेष्ठले संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा ठूलो होर्डिङ बोर्ड राख्न संरचना बनाइरहेका छन् । ‘महाप्रवन्धक ठाकुर श्रेष्ठका अघोषित पार्टनर भएकाले गर्दा अहिले एयरपोर्टमा श्रेष्ठकै हालीमुहाली चल्दै आएको छ । –एयपोर्टर्क एक कर्मचारीले अनलाईन नेपालसँग भने ।



    २०७१ साउन १४ गते वातावरणीय विकास तथा संरक्षण कानूनी मञ्चका अध्यक्ष अधिवक्ता पदम बहादुर श्रेष्ठले काठमाडौं महानगरपालिका, शहरी विकास मन्त्रालय, गृह मन्त्रालय, विज्ञान तथा वातावरण मन्त्रालयसहित ९ कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले २०७२ भदौ १६ गते होर्डिङ बार्ड हटाउन र राख्न नदिन परमादेश जारी गरेको थियो ।

    उक्त आदेशमा भनिएको थियो–‘काठमाडौं महानगरपालिकालाई वातावरणीय रुपमा स्वच्छ, स्वस्थ्य, सफा र सुन्दर बनाउन सरकारका केन्द्रीय तथा स्थानिय निकाय, प्रहरी, वातावरण संरक्षणको क्षेत्रमा क्रियासिल संस्थाहरु र नागरिकसमेतको समन्वयात्मक प्रयासबाट सहरका घर, पर्खाल, छत, विजुलीको पोल र सडकका डिभाइडर आदिमा रहेको पर्चा, पम्प्लेट, भित्तेलेखन, अनाधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनः प्रयोग गर्न नदिन आवश्यक निवारणान्तमक व्यवस्था गर्नु, साथै वातावरण संरक्षणका लागि राज्य संयन्त्रका निकायहरु एवं निवेदक जस्ता वातावरण सम्बन्धी संस्थाहरु, नागरिक समाज र सर्वसाधरण समेतको सहयोग र समन्वयमा जनचेतना जगाउने तथा सामूहिक सहभागीता गर्ने गराउनेलगायतका कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।’

    तर, अहिले विवादास्पद व्यपारी सुवास श्रेष्ठले पर्यटनमन्त्रीदेखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र विमानस्थलका महाप्रवन्धकसम्मलाई आर्थिक प्रलोभनमा पारी एयरपोर्टको सुरक्षा संवेदनसिलतालाई समेत वेवास्ता गर्दै होर्डिङ बोर्ड राख्न धमाधम संरचना बनाइरहेका छन् । त्यसैले पनि विमानस्थलमा उनलाई कसैले रोकेका छैनन् ।

    विमानस्थलमा थप्न लागिएको होर्डिङ बोर्डको बारेमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग सम्पर्क गर्दा उनले विमानस्थलका महाप्रवन्धकसँग यसबारे बुझ्न भन्दै सुझाए । उनले एयरपोर्ट भनेको कमर्सियल भ्यालु एकदमै बढी हुने ठाउँ भएको हुँदा विमानस्थलहरुमा होर्डिङ बोर्ड राख्नु र बाटोमा होर्डिङ बोर्ड राख्नु फरक भएको अनलाईन नेपालसँग बताए ।

    यसबारे विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुसँग प्रश्न गर्दा उनले विमानस्थलको नियमअनुसार होर्डिङ बोर्ड राख्न अनुमति दिएको बताए । विमानस्थलमा होर्डिङ बोर्ड नराख्ने हो भने खर्च धान्न समेत धौ–धौ पर्ने भएकाले पनि विमानस्थलाई आकर्षक देखाउनकै लागि होर्डिङ बोर्ड थप्न लागिएको उनले बताए । यसरी होर्डिङ बोर्ड राख्दा सर्वोच्च अदालतको आदेशको अपहेलना हुँदैन र ? भन्ने अनललाईन नेपाललको प्रश्नमा उनले भने–‘हामीले सर्वोच्चको आदेशको अपहेलना गरेका छैनौं । विमानस्थलको सुन्दरतालाई ध्यानमा राखेर विमानस्थलको आर्थिक अवस्था मजबुद बनाउनका लागि होर्डिङ बोर्डको अनुमति दिएका हौं ।’

    यसरी सर्वोच्च अदालतको आदेशको अवज्ञा गरी तस्करलाई पोस्न कुतर्क गरेर ठाकुर र अधिकारीले सर्वोच्चकै खिल्ली उडाएका छन् । यस बारेमा केही कर्मचारीले सर्वोच्च अदालत भन्दा माथि एयरपोर्टको नियम कानून नभएको भन्दै अपहेलनामा मन्त्री सहितका कर्मचारीहरुविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । श्रेष्ठले आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मिलाइसकेको र सर्वोच्चलाई पनि अब मिलाउन लागेको भन्दै महानिर्देशक अधिकारी र महाप्रवन्धक ठाकुरलाई कन्भिस गराएको विमानस्थलकै एक उच्च अधिकारीले बताए ।

    अन्तर्राट्रिय विमानस्थलको डिपार्चर अगाडि निर्माणाधिन होर्डिङ बोर्डले सीसीटिभी क्यामेरा छोपेको बारे प्रश्न गर्दा महाप्रवन्धक ठाकुरले काम रोकिएको बताए । यद्यपी त्यहाँ काम भने रोकिएको देखिदैन । त्यसैगरी आईएमएस एयरपोर्ट सर्भिसको सम्झौतामा पनि होर्डिङ बोर्ड राख्ने उल्लेख छ । तर, विमानस्थल प्रशासनसँग होर्डिङ बोर्ड राख्न अनुमती माग्दा महाप्रवन्धक ठाकुरले नै रोकेका छन् । जुन कुरा उनले अनलाइन नेपालसँग स्वीकार गरे । तर, सुवास श्रेष्ठले राख्न लागेको होर्डिङ बोर्डको काम निरन्तर चलिरहेको छ ।

    यसरी कसैलाई पाखा कसैलाई काखा भनेझै कमिसनको खेलमा लागेर एयरपोर्टलाई कुरुप बनाउन महानिर्देशक अधिकारी, महाप्रवन्धक ठाकुर र कर्पोरेट महाशाखा लागेको देखिन्छ । आइएमएसलाई होर्डिङ बोर्ड राख्नबाट रोक्नु तर श्रेष्ठको ग्रीन तारालाई होर्डिङ बोर्ड थप्न दिनुले पनि अधिकारी र ठाकुरसँग श्रेष्ठको मिलेमतो रहेको प्रष्ट देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार