Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एयरपोर्टका कफीसपदेखि सरसफाईको करोडौं ठेक्कामा डिजी अधिकारीकै सेटिङ, अख्तियार कहिलेसम्म मौन ?

    एयरपोर्टका कफीसपदेखि सरसफाईको करोडौं ठेक्कामा डिजी अधिकारीकै सेटिङ, अख्तियार कहिलेसम्म मौन ?

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको स्टे अर्डरको भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित कफीसप मुद्दा फिर्ता लिएको झण्डै डेढ वर्ष पुगिसक्दा पनि अझै सञ्चालन भइरहेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा छानविन गरिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको मिलेमतोमा विवादास्पद व्यापारी सुवास श्रेष्ठले त्यस्ता कफीसप सञ्चालन गरिरहेका हुन् ।



    अधिकारीमाथि अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत १२ अर्बबाट बढाएर २४ अर्ब पुर्याई राज्यलाई अरबौं घाटा पुर्याएर आर्थिक लाभ लिएको प्रकरणमा पनि अख्तियारको अनुसन्धान केन्द्रीत छ । तर, अधिकारी अझै सुध्रिएका छैनन् । उनले विवादास्पद, तस्कर र अबैध डलर कारोबारीमार्फत काम गरी प्राधिकरणलाई हानी नोक्सानी पुर्याउँदै आइरहेका छन् ।



    २०६९ चैत २६ गते विवादास्पद ब्यापारी सुवास श्रेष्ठले गोपालबाबु श्रेष्ठको नाममा पुरानो स्टेराइल कक्षको लवीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गरेका थिए ।

    तर, विमानस्थलले उक्त ठाउँ भत्काई नयाँ संरचना निर्माण गर्ने भन्दै २०७६ असार १९ गते ३५ दिनभित्र सो पसल रहेको स्थान खाली गर्न कफीसप सञ्चालक श्रेष्ठलाई पत्र काटेको थियो । तत्कालिन महाप्रवन्धक राजकुमार क्षेत्रीले पत्र काटेपछि श्रेष्ठ त्यसविरुद्ध सर्बोच्च अदालत गए ।

    सर्वोच्च अदालतले २०७६ साउन २० मा श्रेष्ठले सोही स्थानमा पसल सञ्चालन गर्न पाउने गरी ‘स्टे अर्डर’ जारी गर्यो । पटक–पटक पेशी तोकिएपनि तीन वर्षसम्म उक्त मुद्दाको छिनोफानो नभएपछि अन्ततः श्रेष्ठले २०७९ बैशाख २५ गते आइतबार सर्वोच्चमा दायर गरेको मुद्दा फिर्ता लिए ।

    स्टे अर्डरको भरमा २०७६ सालदेखि विमानस्थलको अतिसंवेदनशिल स्टेराइल क्षेत्रभित्र कफीसप सञ्चालन गर्दै आएका श्रेष्ठले मुद्दा फिर्ता लिएको १८ महिना वितिसक्दा पनि पसल भने उनै महानिर्देशक अधिकारीको निर्देशनमा सञ्चालन गरिरहेका छन् ।

    अधिकारीकै आर्थिक स्वार्थ रहेका कारण विमानस्थल प्रशासनले अवैध रुपमा कफीसप सञ्चालन गरिरहेका श्रेष्ठलाई अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।

    तत्कालिन संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग सेटिङ मिलाएर विमानस्थलका निर्बतमान महाप्रबन्धक भोला गुरागाई, प्राधिकरणका तत्कालिन महानिर्देशक राजकुमार क्षेत्री, हालका महानिर्देशक प्रदिप अधिकारी र तत्कालिन महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्रभावमा पारेर श्रेष्ठले स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएका छन् ।

    त्यतिखेर श्रेष्ठले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु राणासँग सेटिङ गरी स्टे अर्डर जारी गराउन सफल भएका थिए ।

    सर्वोच्च अदालतले जारी गरेको स्टे अर्डर अनुसार श्रेष्ठले पुरानो सम्झौता भएको स्थानमा कफीसप सञ्चालन गर्न पाउनु पर्ने हो । तर, सो कफीसपबाट नै आगलागी भएर बिमानस्थलको पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुगेपछि श्रेष्ठलाई महानिर्देशक अधिकारीले नयाँ बनेको स्टेराइल कक्षभित्र कफीसप सञ्चालन गर्न दिएका छन् ।

    सो पसलबाट सल्कीएको आगोले पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुर्याएको थियो । सर्वोच्चले स्टे अर्डर जारी गरेको स्थान नै आगोलागी भएर नष्ट भएको अवस्थामा श्रेष्ठले तत्कालिन पर्यटनमन्त्री प्रेम आले र महानिर्देशक अधिकारीलगायतलाई आर्थिक प्रभावमा पारी गतल तरिकाबाट कमिटी गठन गर्न लगाई सो कमिटीको सिफारीस अनुसार नियम बिपरित कफीसप सञ्चालन गर्दै आएको खुलेको छ ।

    कफीसपका कारण विमानस्थालमा परेको सुरक्षा असरका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर, श्रेष्ठले कफीसप सञ्चालन गर्न पाउनुपर्ने मुद्दा नै फिर्ता लिइसकेको अवस्थामा अख्तियारले पनि कुनै कारबाही प्रकृया अगाडि बढाउन सकेको छैन । महानिर्देशक अधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट एक विचौलियालाई प्रयोग गरी अख्तियारलाई प्रभावमा पारेर कारवाहीबाट जोगिदै आएका छन् । तर, अहिले भने अख्तियारले उनीमाथि चौतर्फी दबाब परेका कारण अनुसन्धान प्रकृया अगाडि बढाएको अख्तियार स्रोत बताउँछ ।

    सरसफाईको ठेक्कामा पनि अधिकारीको स्वार्थ
    एक वर्ष अघि भएको सरसफाईको ठेक्कामा पनि महानिर्देशक अधिकारीले ठूलो आर्थिक चलखेल गरेको खुलेको छ । सुनगाभा श्रेष्ठ सगरमाथा जेभीलाई २३ करोड ९३ लाख ९६ हजार ६२७ रुपैयाँको सरसफाईको ठेक्का दिलाउँदा डिजी अधिकारीले रामै लाभ लिएको विमानस्थल स्रोत बताउँछ ।

    सो ठेक्का सम्झौताको बुँदा नं. ८.२ मा तीन महिना बराबरको नगदै रकम बैंकमा जम्मा गर्नुपर्नेछ भन्ने उल्लेख भए पनि अहिलेसम्म उक्त रकम जम्मा गरिएको छैन । रकम जम्मा नै नगरेपनि सिभिल महाशाखा प्रमुख हरी अधिकारीले महानिर्देशक प्रदिप अधिकारीको निर्देशनमा ठेक्का सम्झौता गरेका थिए ।

    ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने उप निर्देशक हरी अधिकारी र ठेकेदारको मिलोमतोमा यो बिषयलाई गुपचु्प राखिएको छ । कानून विपरित दिलाइएको ठेक्काकै कारण काम पनि हुन सकेको छैन । तलव नपाएको भन्दै अन्तर्राष्ट्रिय टर्मिनल तर्फका सफाई मजदुरहरुले असोज २१ गते दिउसो १२ बजे देखि ४ः३० बजे सम्म सरसफाई सम्मबन्धी कार्य नै ठप्प पारे ।

    राजपत्रमा प्रकाशित सूचना अनुसार अत्यावश्यक सेवामा पर्ने सरसफाइ सेवाको काम ४ घण्टा ३० मिनेट ठप्पहुँदा पनि महानिर्देशक अधिकारी र बिमानस्थल प्रशासनले ठेकेदारलाई कुनै कारवाही गर्न सकेन ।

    ठेक्का सम्झौतामा २४ घण्टाभित्र ३ सिफ्टमा काममा लगाइने भनि उल्लेख गरिएको छ । तर, केही समय रातिको समयमा काम भएको भन्दै ठेकेदारले प्राधिकरणसँग ओभरटाइमको पैसा भन्दै झण्डै ३२ लाख माग गरेको छ । सम्झौता अनुसार राती पनि काम गरिनुपर्ने हो । तर, महानिर्देशक अधिकारीले ठेकेदारलाई पोस्न उक्त रकम पनि भुक्तानी गर्ने तयारी गरेपछि प्राधिकरणका कर्मचारीहरु अचम्मित बनेका छन् । यो प्रकरणमा अख्तियारमा उजुरी परेपछि अख्तियारले कागजात झिकाएर छानविन थालेको स्रोत बताउँछ ।

    महानिर्देशक अधिकारीलाई ठेकेदारलाई २३ लाख भुक्तानी गर्न फाइल उठाउन लगाइसकेका छन् । सरसफाइ सामाग्रीहरु ठेक्का सम्झौता अनुसार नभएको, गुणस्तरहित सामान प्रयोग भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

    प्रकाश ढकाल, रमेश ढकाल, अम्मर रायमाझीलगायतका सरसफाइका ठेकेदारहरुले अनावश्यक व्यक्तिहरुलाई एयरपोर्टको पास उपलब्ध गराएर गैरकानूनी धन्दा चलाइरहेको विमानस्थल स्रोत बताउँछ ।

    यसैबीच, संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा सुधार गर्न खोज्दा डलर कारोबारी सुवास श्रेष्ठसँगको कनेक्सन भेटिएपपछि महानिर्देशक अधिकारीको थप कर्तुत मन्त्रीले फेला पारेका छन् । महानिर्देशक अधिकारी थप समस्यामा परेपछि फेरि मन्त्री नै हटाउने खेलमा लागेका छन् । यस अघि पनि अधिकारी मन्त्री किराती हटाउने खेलमा लागेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री गंगा दाहालसँग सेटिङ मिलाई अधिकारी महानिर्देशक पदमा टिकिरहन सफल भएको मन्त्रालय निकट स्रोतको दावी छ । मन्त्री किरातीले श्रेष्ठमाथि छानविन प्रकृया अगाडि बढाएपछि महानिर्देशक अधिकारी केही दिन अघि पद जोगाउन एक विचौलिया बोकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निवास पुगेका थिए ।

    एयरपोर्टमा भइरहेका अवैध गतिविधि र भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीसँग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार