Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुख काट्नेलाई पोखरा महानगरले तिरायो १५ हजार जरिवाना

    रुख काट्नेलाई पोखरा महानगरले तिरायो १५ हजार जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 840
    SHARES

    कास्की । पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । महानगरले पोखरा–८, न्युरोडमा सडकछेउमा हुर्किएका रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो ।

    फुटपाथमा हुर्किएका रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० को व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।



    पसल छेकिएको जनाउँदै अनुमतिबिना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।



    महानगरको आर्थिक ऐनमा सडकछेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिबिना कटान गरेमा प्रतिहाँगा पाँच हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

    महानगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालु वर्षमा दुई लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ ।

    ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम छ ।

    सडकछेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा नगरप्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । पर्यावरणको सन्तुलनमा रुख–बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घरअगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका निम्ति उनले महानगरवासीमा आग्रह गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार