Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीमा डीआईजीका तीन पद रिक्तः बदनाम एसएसपीहरू बढुवाको दौडधुपमा

    नेपाल प्रहरीमा डीआईजीका तीन पद रिक्तः बदनाम एसएसपीहरू बढुवाको दौडधुपमा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 5.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई एआइजी र एक डिआइजीले अवकाश पाएका छन् । एआईजीद्वय सन्दीप भण्डारी मिरा चौधरी तथा डीआईजी विकाराज खनालले ५६ वर्षको उमेरहदका कारण अवकाश पाएका हुन् ।

    रिक्त एआईजी पदमा दुई डीआईजीको बढुवा सिफारिस भइरहेको छ । एआईजी सिफारिस भएसँगै डीआईजी बढुवाको दौडधुप सुरु भएको छ । एआईजीको पद रिक्त नहुँदै बढुवा सिफारिस भएकाले डीआईजीमा पनि त्यस्तै हुन सक्ने आकलन गरेर एसएसपीहरू दौडधुपमा लागेका छन् ।



    बढुवामा एक दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् । सिनियर टोलीबाट कृष्णहरी शर्मा, भोला रावल, धुव्र राउत र गणेश चन्द छन् । चारै जना कार्यसम्पादनमा कमजोर मानिन्छन् ।



    उनीहरूपछि राष्ट्रिय अनुसन्धान विभागबाट चलखेल गरी प्रहरीमा स्थानान्तरण भएको टोली छ । जसमा सबैजसो बदनाम छन् । एसएसपी शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर र उमा प्रसाद चर्तुर्वेदी अहिलेको वरियतामा अगाडि छन् ।

    तीनै जना प्रहरीमा अकुत सम्पत्ति कमाएका अधिकृत हुन् । बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनीहरूलाई अघि तानेर बढुवा गरेका थिए ।

    उनीहरू २०५३ सालको पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागका भर्ना भएकोमा पछि कांग्रेस नेताहरूको चाकडी गरी नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । तालिम समेत पछि गरेका उनीहरू १११ को टोलीका एसएसपीहरूलाई पछि पारेर बढुवा हुने दाउमा छन् ।

    यसअघि चलखेलकै आधारमा पहिलो नम्बरमा बढुवा भएका शाह पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । उनी रौतहटमा हुँदा पत्रकारलाई लागुऔषध मुद्दामा फसाएका थिए । सामान्य प्रहरी भए त्यति बेला नै उनको जागिर जाने अवस्था थियो ।

    तर, कारबाही समेत नगरी उनलाई पहिलो नम्बरमा बढुवा गरिएको थियो । ललितपुरमा पनि उनकै कमजोर कमाण्डका कारण बालकुमारी गोली काण्ड भयो । कमाण्डमा कमजोर र आर्थिक रूपमा बलिया उनै शाह अहिले भावी आईजीपी हुन्छु भन्दै लागेका छन् । राठौर र चतुर्वेदी पनि नेपाली कांग्रेस निकट अधिकृत हुन् ।

    उनीहरूपछि २०५४ सालको चैत १८ मा भर्ना भएकामध्येबाट दानबहादुर कार्की र मनोज केसी अगाडि छन् । कार्की पनि बेला–बेला विवादमा परेका अधिकृत हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई सघाएको आरोप उनीमाथि लागेको थियो ।

    आकर्षक पोष्टिङबाट अकुत कमाएको आरोप समेत उनीमाथि लाग्दै आएको छ । केसी भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरेको आधारमा आफू बढुवा हुनुपर्ने दाबी गरिरहेका छन् ।

    सोही ब्याचका एसएसपीहरू दिनेश आचार्य, राजन अधिकारी पनि बढुवाका दाबेदार हुन् । राष्ट्रिय अनुसन्धान विभागबाटै स्थानान्तरण भएका हिमालय कुमार श्रेष्ठ समेत दौडधुपमा लागेका छन् ।

    रिक्त हुने पदमा पहिलो नम्बरमा रहेका शर्मा बढुवामा पर्ने र बाँकी दुई १११ को टोलीबाट पर्ने सम्भावना रहेको स्रोत बताउँछ । अहिले डीआईजी हुने अधिकारी २०८२ को कात्तिकमा आईजीपीको दाबेदार हुने भएकाले बढुवामा चर्को प्रतिस्पर्धा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार