महोत्तरी । मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो ।
यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँधिनुपर्ने पुरोहित बर्दिबास–२ का महेशकुमार झाले बताए । चन्द्रमास गणनामा तिथिको आधा भागलाई करण भनिन्छ ।
जम्मा ११ करणमध्ये भद्राको भोगभरि शुभकार्य शास्त्रले बर्जित गरेको हुँदा यो कटाएर आज राखी मनाइनुपर्ने उनले स्पष्ट पारे । आज भद्रा करणको भोग अपराह्न १ः३१ सम्म रहने हुँदा सो समय कटाएर राखी बाँधिनुपर्ने झाले स्पष्ट पारे ।
यस क्षेत्रका बजारमा रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न मिथिलानी (मिथिलाका नारी) को भीड नै देखिएको छ ।
राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेकाले मिठाइ पसल पनि आज एकाबिहानदेखि भरिभराउ छन् ।