काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपलिका–२, ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।
तनहुँ प्रहरीका अनुसार १५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस मर्स्याङ्दी नदी खसेको थियो ।
१६ जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।