Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

वन उपभोक्ता समूहका अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन उपभोक्ता समूहका अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाम नगरपालिका-११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कार्की र समूहकी कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामविरुद्ध सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको छ ।

उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्कीले २०७० सालदेखि ठेकेदारसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रम भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।

उनले कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाएको अनुसन्धानबाट खुलेको थियो ।

कार्कीले लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफूखुसी कारोबार गरी आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बूक लगायतका कागजात आफैँले राख्ने गरेको पाइएको छ ।

उनले वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार ६ सय रुपैयाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरेको अख्तियारको आरोप छ ।

कार्कीले कटान आदेशभन्दा बढी ८ लाख ५५ हजार ५०४ रुपैयाँको वन विनाश गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

यस्तै समितिकी कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामको समेत संयुक्त दस्तखतबाट खाता सञ्चालन भएको पाइएको छ ।

उनले चेकमा हस्ताक्षर गरेको खुल्न आएकाले उनीविरुद्ध पनि ३० लाख ७८ हजार ६ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077