Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गुणस्तर पुष्टि नभएपछि श्रीकेश तेल उत्पादक कम्पनीलाई कारबाही

गुणस्तर पुष्टि नभएपछि श्रीकेश तेल उत्पादक कम्पनीलाई कारबाही

बुधवार , भाद्र १२, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको हो ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।

'माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन । कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्यूर (एसओपी) को अभिलेख पाइएन । यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी)) होइन,' प्रतिवेदनमा उल्लेख छ ।

इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाण पत्र उत्पादित तेलमा प्रयोग गरिएको छ । यसो गर्न पाइँदैन । प्रतिवेदनले औँल्याएको छ ।

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ । सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको छ । उक्त ब्याचको उत्पादनहरुमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्याद भन्दा कम देखिएको छ ।

तेलको लेबलमा उल्लेख भएका तत्वहरु र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त भएन । लेबलमा उल्लेख फाइदाहरु (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शव्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ ।

यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077