Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वडाध्यक्ष यादवको हत्या गरेको आरोपमा उनकै दुईजना साथी पक्राउ

वडाध्यक्ष यादवको हत्या गरेको आरोपमा उनकै दुईजना साथी पक्राउ

बुधवार , आश्विन ९, २०८१

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु.प्र.०१–००१प ६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।

घटना शंकास्पद रहेको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सीआईबीको माग गरेका थिए । जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपछि मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरू सञ्जीव र दिलीप पक्राउ परेका हुन् ।

घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरूले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाइपिलाइ गरेको, उनीसँगै अबेर रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शंकास्पद रहेको माओवादी केन्द्रले जनाउँदै आएको थियो ।

पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077