काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् ।
उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते विजयादशमीका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपरान्ह २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो ।
सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिल समेत गरेको छ । यस्तै उपराष्ट्रपति यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालीहरूको महान पर्व बडदशैंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताए ।