काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा जिल्ला अदालत काठमाडौंले राईसहित २४ जनालाई अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।
काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो ।
जसमध्ये ६ सय ४५ जनाले आफूहरुको १ अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
पीडितले काठमाडौं महानगरपालिका र प्रहरीमा दिएको जाहेरी तथा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि आरोपितमध्येका २४ जनालाई अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ ।