Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनमा सहजीकरण गर्न कांग्रेसले दियो १० नेतालाई जिम्मेवारी

उपनिर्वाचनमा सहजीकरण गर्न कांग्रेसले दियो १० नेतालाई जिम्मेवारी

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न १० जना नेतालाई जिम्मेवारी दिएको छ ।

स्थानीय तह उपनिर्वाचनको समन्वय र सहजीकरणका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा केन्द्रीय संयोजन समितिले १० जना नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले बागमती प्रदेश, सहमहामन्त्री भीष्मराज आङ्दम्बेले कोशी प्रदेश, सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेश, सहमहामन्त्री जीवन परियारले कर्णाली प्रदेश र गण्डकी प्रदेश र केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिम प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।

प्रवक्ता प्रकाशशरण महतले अन्तर पार्टी समन्वय गर्नेछन् भने केन्द्रीय सदस्य पुष्पा भुसालले लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय गर्ने कांग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रचार प्रसार संयोजन, केन्द्रीय सदस्य मधु आचार्यले स्थानीय तह समन्वय र केन्द्रीय सदस्य नानु बास्तोलाले सचिवालय व्यवस्थापनको जिम्मेवारी पाएकी छन्।

महामन्त्री शर्मा नेतृत्वमा सानेपामा बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ।

मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ। कांग्रेसले उम्मेदवारहरू सिफारिस गर्न सुरू गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077