Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रवि नछुट्ने भएपछि दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

रवि नछुट्ने भएपछि दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको जानकारी दिएका छन् ।

उनले भने–‘मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।’

रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निश्कर्ष समेत निकालेको छ ।

लामिछानेविरुद्धको कारबाही राजनीतिक प्रतिशोधको निकृष्ट काम भएको ठहर गर्दै बैठकले

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याइ छ ।’

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नं. ४४९ मा गोरखा मिडिया प्रालिमा सहकारीको रकम लैजाने प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको तथ्य उल्लेख भएको रास्वपाले जिकिर गरेको छ । तर वर्तमान सत्ता गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न सभापति लामिछानेलाई पक्राउ गरेको कार्यबाहक प्रवक्ता झाले बताए ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

कुनैबेला आफैं राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत रहेको भन्दै रास्वपाले सरकारको यो कदमविरुद्ध दोस्रो चरणको संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

रास्वपाको निर्णयमा भनिएको छ–‘रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान गर्ने ।’

त्यस्तै १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनलाई जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध, बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध सर्वसाधारणमा जागृति फैलाउने अभियानका रुपमा लिने निर्णय पनि गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077