काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने टिप्पणी गरेका छन् ।
रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीतर्फ फर्केर यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रहरी हिरासतमै रहेपनि जोशजाँगरमा भने कमी नआएको बताए । लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको थियो ।
मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मंगलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको छ । लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन्।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिने प्रहरीले जनाएको छ। बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ।