काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वानएक्स बेटमा सट्टाबाजी गर्न रकम लगाउने र संकलन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राई रहेका छन् ।
राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले ५५ करोड २० लाख ८४ हजार आर्थिक कारोबार गरेको भेटिएको छ ।
राई वानएक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले बेटिङ गेम खेलाउने, क्रिप्टोको कारोबार गर्ने गरेको आरोप छ।
प्रहरीले उनको ७५ वटा बैंक, १२८ वटा इसेवा वालेट र बाइनेन्स आइडीको अनुसन्धान गर्दा ५५ करोड २० लाख ८४ हजार ७१ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सिम कार्ड, राउटर, ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ बुक चेक, ४२ वटा एटिएम बरामद भएको छ। उनको एउटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीमाथि प्रहरीले मुलुकी अपराध संहित २०७४को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र दफा २६२ (क) १ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान हुने भएको छ।