Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आईजीपीको नाममा हेडक्वार्टरकै एसपीद्वारा १९ घुमुवा परिचालन

आईजीपीको नाममा हेडक्वार्टरकै एसपीद्वारा १९ घुमुवा परिचालन

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । आईजीपीसा’बका घुमुवा भन्दै प्रहरी प्रधान कार्यालयमा कार्यरत एक एसपीले अवैध रुपमा घुमुवा परिचालन गरी असुली धन्दा चलाउँदै आएको खुलेको छ ।

उजुरी छानविन शाखामा कार्यरत एसपी प्रकाश मल्लले यस्तो धन्दा चलाएका हुन् । उनले परिचालन गरेका घुमुवाहरू विभिन्न काण्डमा मुछिएपछि वास्तविकता बाहिर आएको छ । जसकारण उजुरी छानविन शाखामा कार्यरत एसपी मल्ल आफैं छानविनमा तानिएका छन् ।

एसपी मल्लको संरक्षणमा रहेका हवल्दार रामविश्वास यादब १५ लाख बार्गेनिङ प्रकरणमा तानिएपछि वास्तविकता बाहिर आएको हो । लामो समयदेखि पर्सामा काम गरेका यादबविरुद्ध उजुरी बढेपछि छानविनमा तानिएको थियो ।

छानविन गर्ने एसपी उनै मल्ल थिए । तर, मल्ललाई यादबले यसरी प्रभावित पारे कि उनीमाथि छानविन गर्नुको सट्टा उल्टो संरक्षण गर्न थाले । यादबलाई सिआइबीमा खटाइयो ।

सिआईबीमा बिदा मिलाएर यादब असुली धन्दाका लागि वीरगञ्ज पुगे । त्यहाँ यातायात व्यवस्था कार्यालयका प्रमुख धर्मेन्द्र कर्णसँग १५ लाख मागेको उजुरीपछि फेरि उनीमाथि यतीबेला सिआईबीले छानविन थालेको छ । एसपीकै बदमासीका कारण यो घटना भएको सिआइबीका एक अधिकारी बताउँछन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यसरी १९ जना घुमुवालाई एसपी मल्लले आईजीपी बसन्तबहादुर कुँवरले खटाएको भन्दै विभिन्न कार्यालयमा पठाएका थिए । ती घुमुवाहरु अवैध गतिविधिमा संलग्न छन् ।

उनै मल्लले खटाएका हवल्दार कलिम बेहना गत ११ कात्तिकमा लागुऔषधसहित काठमाडौंमा पक्राउ परेका थिए । दाङमा लामो समय काम गरेका बेहना यसअघि पनि विभिन्न गतिविधिमा संलग्न रहेको खुलेपछि छानविनमा तानिएका थिए । तर, एसपी मल्लले उनलाई पनि संरक्षण गरेका थिए ।

मल्लले तराईका दुई जिल्ला नवलपरासी र महोत्तरीको एसपी भएर काम गरिसकेका छन् । तराईका जिल्लामा घुमुवाले कसरी पैसा उठाएर बुझाउछन् उनलाई राम्रोसँग थाहा छ । त्यसकारण अहिले उजुरी छानविन शाखामा बसेर उनले तिनै घुमुवालाई परिचालन गरिरहेका छन् ।

आफुलाई नटेर्नेलाई छानविनमा तान्ने र अन्यलाई जोगाउने तथा संरक्षण गर्ने उनको नीति छ । महोत्तरीमा ९ बर्षदेखि कार्यरत हवल्दारहरु धर्मेन्द्र यादव र राजेश यादवलाई पनि उनले नै संरक्षण दिदै आएको स्रोत बताउँछ ।

घुमुवाका रुपमा सहायक हवल्दार राजेश यादवको दरबन्दी पर्साको बिपत ब्यवस्थापन कार्यालयमा भएकोमा धनुषा गणका काज मिलाए । त्यहाँ एसपी नारायण रंजितकार र सुबेदार मेजरसँग सेटिङ मिलाएर उनी महोत्तरीमा घुमुवाका रुपमा खटिंदै आएका थिए ।

मंगलबार मात्र उनको महोत्तरीमै काज सरुवा भएको छ । यसमा उनले प्रदेश प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म सेटिङ मिलाएका थिए । धर्मेन्द्र यादबलाई पनि महोत्तरीमै काजमा राखेर असुलीमा प्रयोग गरिएको छ ।

महोत्तरीमा एसपी मल्ल यती बदनाम थिए की उनका लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो । एसपीकै निर्देशनमा ठेकदारसँग पैसा उठाउन काठमाडौं आएका बेला लेखापाल पक्राउ परेका थिए ।

एसपी मल्ल महोत्तरीमा हुँदा घुमुवा बनाएका सहायक हवल्दार संजय जैसवाललाई वडा प्रहरी कार्यालय बिर्तामा सेटिङ मिलाएर पठाएका छन् ।

तराईका हरेक जसो जिल्लामा उनले यसैगरी घुमुवामार्फत चलखेल गरेको स्रोत बताउँछ । त्यसरी परिचालन गरिएकालाई आईजीपीका घुमुवा भनिएको छ ।

विगतमा आईजीपीहरुले त्यसैगरी तराईमा घुमुवा परिचालन गरेर असुली गर्दथे । अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले घुमुवा खटाएका छैनन् । तर, सोझा आईजीपीलाई बदनाम हुने गरी एसपीले धन्दा चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077