काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मुख्य राजनीतिक दलहरुले नै देश बिगारेको आरोप लगाएका छन्।
भक्तपुरको मध्यपुर ठिमीमा प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख सचेतक परियारले यस्तो आरोप लगाएका हुन्।
उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताए ।
प्रमुख सचेतक परियारले भने,‘नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर बिदेसिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवाद नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन।’
पुरानो दलले सिद्धान्ततः काम नगरेको भएर प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा नातावाद, कृपावाद र परिवारवाद भन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको उनको दाबी छ ।