काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन्।
बागमती प्रदेशले आयोजना गरेको शान्ति सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले राज्यले अनुसन्धान गरिरहेका बेला सडक आन्दोलन र प्रदर्शन गरेर अनुसन्धान नै प्रभावित गर्ने प्रयास भएको बताए।
गृहमन्त्री लेखकले भने,‘अपराध भइसकेपछि राज्यले सरकारले अनुसन्धान गर्छ, अभियोजन गर्छ । न्यायिक प्रक्रियाहरू हुन्छन् । तर, कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर हुने गतिविधिहरुलाई शहन गर्न सकिँदैन ।’
लामिछानेमाथि भइरहेको छानबिनलाई लक्षित गर्दै उनले न्यायिक प्रक्रियालाई प्रभावित गर्ने प्रयास भएको जिकिर गरे।
सहकारी ठगीबारे बयान लिएर लामिछानेलाई चितवनबाट पोखरामा राति लगिएको विषयलाई लिएर प्रहरी प्रशासनको आलोचना भइरहेको छ ।
यस्तोमा गृहमन्त्री लेखकले भने संविधान र कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर भएका गतिविधिलाई सहन नसकिने बताए।