काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरीको काम आतंक मच्चाउँदै गरिबका ठेला पल्टाउने नभएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,‘ललितपुर नगर प्रहरीले गुर्र जीपमा कुदेर, अर्कै लोकको केही आएझैं गरेर कुदेर, झ्याप्प गाडी रोकेर, सिठ्ठी बजाउँदै, आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै। यस्तो गरेको मैले देखेको छैन।’
प्रधानमन्त्री ओलीले ललितपुर महानगर प्रहरीको प्रशंसा गरे । उनले नगर प्रहरीलाई देख्दा जनताले सुरक्षित महसुस गर्न पाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नगर प्रहरी पुग्दा व्यवसायीलाई ‘लौ आयो, कता भागौं, के गरौं’ भन्ने हुन नहुने उल्लेख गरे ।