Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीको फूलवारीमा पुस २३ देखि २७ गतेसम्म डेउडा महोत्सव हुने

धनगढीको फूलवारीमा पुस २३ देखि २७ गतेसम्म डेउडा महोत्सव हुने

मंगलवार , पौष १६, २०८१

कैलाली । कैलालीमा लोक सांस्कृतिक तथा डेउडा महोत्सव आयोजना हुने भएको छ ।

मङ्गलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलबारीको संयुक्त आयोजनामा पुस २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।

संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आजोजकले जनाएको छ । सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष तिलकबहादुर ओलीका अनुसार महोत्सवमा प्रदेशस्तरीय डेउडा कार्यक्रम, पञ्चेबाजा, सखिया, झुम्रा, लोकदोहोरी, मारुनी, तामाङसेलो प्रतियोगिता गरिने छ ।

महोत्सवमा चर्चित राष्ट्रिय डेउडा कलाकारहरूको समेत प्रस्तुति रहनेछ । महोत्सवमा खुल्ला डेउडा प्रतियोगिता हुने र सुदूरपश्चिमका ९ जिल्ला सहित अन्य प्रदेशका प्रतियोगी टोलीको सहभागिता हुने आयोजकले जनाएको छ।

डेउडा प्रतियोगिताका लागि पुस १८ देखि २३ गतेसम्म समूह दर्ता गर्न सकिने छ । डेउडा प्रतियोगिताका सहभागी टोलीहरूलाई पुरस्कारको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

महोत्सवमा पञ्चेबाजा, भुवा, मारुनी, सखिया, झुम्रा नाच र तामाङसेलो नाचका उत्कृष्ट टोलीलाई सम्मान गरिने अध्यक्ष ओलीले बताए । डेउडा समूह पुस १८ देखि २३ गते बेलुका ४ बजेसम्म हुनेछ । समूह दर्ताका लागि ९८४७३४४११९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

दर्ता भएका समूहको पुस २३ गते बिहान १० बजे गोलाप्रथाबाट खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । डेउडा खेल पुस २३ गतेदेखि नै खेलाइने र खेलाडीहरुले पुस २३ गते बिहान १० बजेभित्र पुगिसक्नु पर्नेछ ।

डेउडा तथा लोक दोहोरीमा सहभागीमध्ये सर्वोत्कृष्ट टिम एवं स्रष्टाको उचित सम्मान तथा पुरस्कारको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ । सो महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति कमलबहादुर शाहले गर्नेछन् ।

महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । साथै महोत्सवलाई मध्यनजर गर्दै यात्रुलाई बिहान तथा साँझ पनि आवतजावतमा सहज होस भन्दै धनगढीदेखि फूलवारी बस सेवा सुचारु रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077