काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन आग्रह गरेको हो ।
ब्यूरोले भनेको छ, ‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेका छन् ।’
यसका साथै खल्ती, इसेवा जस्ता विभिन्न वालेट तथा बैंक/वित्तीय संस्थाहरूबाट बोलेको भनेर ओपीटी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अनलाइन सपिङलगायतका बहानामा पनि ठगी गर्ने कार्य भइरहेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोले यस्तो अवस्थामा आम जनमानसमा गलत विज्ञापनहरूमा विश्वास नगर्न, आआफ्नो व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित तबरले प्रयोग गर्न सचेत गराएको छ ।