Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ नयाँ वर्षमा हङकङमा ‘एलजी फेस्ट २०२५’ को आयोजना हुँदै

चिनियाँ नयाँ वर्षमा हङकङमा ‘एलजी फेस्ट २०२५’ को आयोजना हुँदै

आइतवार , पौष २१, २०८१

काठमाडौं । चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा क्रियाशील नेपालीको संस्था लालीगुराँस एसोसिएसनले ‘एलजी फेस्ट २०२५’ को आयोजना गर्ने भएको छ ।

जनवरी ३० मा ताइ तोङ अर्गानिक इको पार्कमा हुने उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारीमा आयोजक संस्था जुटेको छ ।

लालीगुराँस एसोसिएसनले हरेक चिनियाँ नयाँ वर्षको अवसर पारेर हङकङमा ‘एलजी नाइट (लालीगुराँस नाइट) आयोजना गर्दै आइरहेकोमा यस पटक भने एसोसिएसनले खुल्ला स्थानमा ‘एलजी फेस्ट २०२५’ को आयोजना गर्न लागेको हो ।

हङकङको इतिहासमै पहिलो पटक खुल्ला ठाउँमा ‘एलजी फेस्ट २०२५’(एलजी नाइट १७) आयोजना हुन गइरहेको आयोजक मध्येका चेतन गुरुङले बताए ।

उनले कार्यक्रमका लागि स्टेज, साउण्ड, भेन्यु र लाइटमा मात्रै करिव एक मिलियन हङकङ डलर खर्च हुने जानकारी दिए । हङकङ सरकारको मापदण्ड र स्ट्याण्डर्ड अनुसार नै स्टेज तयार हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नेपाली खानाहरुको स्टल पनि रहने छ ।

चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानालगायत हङकङका जुझारु नेपाली युवाले सन् २००४ मा हङकङमा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए । उनीहरुले नै एलजी नाइटको आयोजना गर्दै आएका छन् ।

आयोजकमध्येका चेतन गुरुङले यो वर्ष पनि कार्यक्रम भव्य र सब्य हुने बताएका छन् । चिनियाँ नयाँ वर्षमा हुने लामो बिदामा चिनियाँहरू आफ्नो संस्कृतिमा रमाइरहँदा नेपालीले पनि आफ्नै संस्कृतिमा रमेर बिदा मनाऊन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाई छ । संस्थाले यसअघि सन् २०२४ मा १६औँ एलजी नाइट सम्पन्न गरेको थियो ।

कार्यक्रममा नेपाली ब्याण्ड जोन एण्ड द लोकल्स, कन्दरा, पूर्ण राई एण्ड द दाजुभाई र शान्ति श्री परियार (रुकुमकोट) लगायतले आफ्नो कला प्रस्तुती देखाएर दर्शकहरुलाई मनोञ्जन प्रदान गर्नेछन् भने भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामाले पनि नृत्य प्रस्तुत गर्नेछन् ।

त्यस्तै डान्सर सुस्मिता तामाङले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिंदैछिन् । कार्यक्रमको होस्ट भने कलाकार जीतु नेपाल र नायिका केकी अधिकारीले गर्ने भएका छन् । अधिकारीले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा हङकङको स्थानिय ब्याण्ड र स्थानीय कलाकारहरुले पनि प्रस्तुती दिएर नेपाली कलाकारहरुलाई सघाउने छन् ।

स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि गर्दै आएको छ । यो वर्ष भने अमेरिकामा जनवरी ९ मा ‘एलजी नाइट यूएसए’ हुँदैछ ।

कार्यक्रमबाट भएको अर्थोपार्जन नेपालका परोपकारी संस्थामार्फत विभिन्न क्षेत्रमा सहयोग गर्ने गुरुङले बताए ।

एलजी एसोसिएसनले २०७२ सालको भूकम्पको बेला गोरखा, धादिङ तथा सिन्धुपाल्चोकमा राहत वितरण गरेको थियो । त्यस्तै, पोखरा तथा दमौलीमा उपचाररत भूकम्पपीडित घाइतेलाई औषधोपचारको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077