काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप अन्तर्गतको खेलमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।
मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै १३९ रन बनाएको हो ।
नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन् ।
तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन् ।
नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।
समूह डी म यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्स पुग्न अष्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ । अष्ट्रेलियासँग पराजित भएमा भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।