काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको उत्तर यतिबेला भाइरल बनेको छ । साम्पाङले आफूविरुद्ध परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा अनौपचारिक वा सामान्य बोलीचालीको ‘ठट्यौलो’ जवाफ फर्काएका छन् ।
आयोगले श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै साम्पाङविरुद्ध परेको उजुरीमाथि अख्तियारले छानविन गरिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सम्बोधन गरेर लेखिएको पत्रमा मेयर साम्पाङले हस्ताक्षर गरेका छन् । उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन् । हरेक काममा पानी चाहिने भन्दै उनले केन्द्र सरकारलाई गरेको अनुरोध नसुनेकोले थोत्रे गाग्री लिएर काठमाडौं जानुपरेको बताएका छन् ।
उक्त पत्रमा भनिएको छ-'धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो । यसले आफ्नो नगरवासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्छ । बिहान उठ्ने वित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला । केही छिनपछि भात पकाउन परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नु परो । त्यसका लागि नि पानी चाहिन्छ । जुठो भाँडा लडाइराख्न मिलेन । धुनै परो । त्यसका लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा भएन धुनै परो । लुगा धुन नि पानी नभइ नहुने । स्वास्थ रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्लुएचओले । नुहाउनलाई नि पानी चाहियो । यसो करेसाबारी र बगैंचातिर नि पानी चाहिने नै भो । फेरि सुँगुर चौपायालाई पनि पानी नखुवाई नहुने । त्यसो भएको खुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नैपरो मैले, इन फ्याक्ट हाम्ले ।’
‘त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै... घुमाउँदै घुमाउँदै.... घुमाउँदै घुमाउँदै .... घुमाउँदै घुमाउँदै लड्दै र पड्दै... तान्यो ... तान्यो... एक्छिन है ... बिस्तारै सुल्काउँ है ... भन्दै... ओहोइ भनुं त... भन्दै घरी घरी नाच्दै र गाउँदै पनि... बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं । केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर बर्षो बिन्ति बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगें । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ... खोइ कुरा बुझ्या !’, मेयर साम्पाङले लेखेका छन् ।
उनले लेखेका छन्-‘सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ । एक दिन आउनु है मुहानबाट धरान सम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न ! कम्ता रमाइलो छैन । त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ?’
तिर्खाएका मानिसहरूको श्राप लाग्ला भन्दै उनले थपेका छन्–‘अचम्म लाग्छ यत्रो दुःख गर्दानी ताली नबजाको देख्दा । राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, ncell, widebody जस्ता कुरा नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला १ पानी भनेको बिकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान है फेरि !’