कैलाली । धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको हो ।
योसँगै एपीएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पायो । सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख रुपैयाँ हात पार्यो ।
६८ रनको विजयी लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्माले नटआउट १८ रन जोडिन् ।
यसअघि, फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा समेटिएको थियो । ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ बाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ एपीएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुईरदुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिइन् ।
प्रतियोगिताभर व्यक्तिगत १७२ रन र पाँच विकेट लिएकी एपीएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भइन् ।
एपीएफका निम्ति २०९ रन बनाएकी ममता चौधरी ‘वेस्ट ब्याटर’ र वाग्मती प्रदेशका लागि १० विकेट लिएकी मनीषा उपाध्याय ‘बेस्ट बलर’ घोषित भए । यही माघ १ गतेदेखि सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।