अछाम । जिल्ला खेलकुद समिति अछामको आयोजनामा चौरपाटी गाउँपालिकामा १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ७ देखि ११ गतेसम्म हुँदैछ ।
गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद समितिले चौरपाटी गाउँपालिकाको खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो । जसको तयारीमा गाउँपालिका अहिले तीब्र रुपमा लागिरहेको छ ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदका अनुसार खेल मैदानको काम पनि अन्तिम चरणमा पुगेको हो । सबै खेलहरु पालिकाको खेल मैदानमा हुनेछन् । अबको एक दुई दिनमा खेल मैदान पूर्ण रुपमा तयार हुने उनले बताए ।
उनले विभिन्न उपसमिति गठन गरेर सम्पूर्ण तयारी भइरहेको बताए । पालिकामा बास बस्न लगायतका समस्या रहेको बताउँदै उनले त्यसतर्फ पनि आफूहरुले होटल व्यवसायीसँग छलफल गरेको बताए ।
केही हप्ता अगाडी गाउँपालिकाकाले सर्वदलीय बैठक पनि आह्वान गरेको थियो । फेरि पनि बैठक बसेर प्रतियोगितालाई भव्य र सभ्य बनाउनतिर आफू लाग्ने उनी बताउँछन् ।
यता जिल्ला खेलकुद समिति अछामका अध्यक्ष केशर खड्काले पनि प्रतियोगिताको तयारी लगभग सकिएको बताए । उनले प्रतियोगितामा आठ सय भन्दाबढी खेलाडीहरुको सहभागिता रहने जानकारी दिए ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका विद्यार्थीहरुको सहभागीता रहने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथलेटिक्स, कबड्डी, भलिबल लगायतका खेलहरु हुनेछन् । सवै ईभेन्टतर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाण प्रत्र दिइने छ ।
यता चौरपाटी गाउँपालिकाले शिल्ड कब्जा गर्ने गरी खेलाडीहरुलाई प्रशिक्षण तथा तयारी गराइरहेको छ । यस्तै अध्यक्ष साउँदले प्रतियोगितालाई खेलकुद महोत्सव कै रुपमा अगाडी बढाइने बताए । उनले विभिन्न कलाकार तथा स्थानीय कला संस्कृती पनि प्रतियोगितामा देखाइने जानकारी दिए ।