काठमाडौं । आहा ! रारा पोखरा गोल्डकपको २४औँ संस्करणको फाइनल खेल आज हुँदैछ ।
यस वर्षको फाइनलमा विभागीय नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतिस्पर्धा गर्नेछन् । दिउँसो २:३० बजे पोखरा रङ्गशालाको खेल मैदानमा दुवै टोलीले उपाधि जित्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् ।
यस प्रतियोगिताको सुरुवात विसं २०५८ मा क्याराभान गोल्डकपको रूपमा भएको थियो र यति लामो समयमा कुनै वर्ष पनि यो रोकिएको छैन। पुलिस क्लबले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमिसकेको छ र अब सातौँ उपाधिको खोजीमा छ।
पुलिसले विसं २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा उपाधि उचालेको थियो । ब्ल्याक बुल्स भने पहिलो सहभागितामै उपाधि जितेर घर फर्कन चाहन्छ।